Logo
Logo

अँध्यारोमा चुरेबासी : स्थानीय भन्छन्, ‘पोल गाड्न जमिन दियौँ, बत्ती पाएनौँ’



धनगढी । कैलालीको दुर्गम पहाडी चुरे गाउँपालिकाका नागरिक अँन्धकारमा बस्न बाध्य छन् । स्थानीयस्तरमा ३.३३ मेगावाटको कापडीगाड खोला जलविधुत आयोजना निर्माण सम्पन्न भएको पाँच वर्ष भइसक्दासमेत चुरेवासी बत्तीमुनिको अध्याँरोमा बस्न बाध्य भएका हुन् ।

चुरे गाउँपालिकामा ६ वटा वडा रहेका छन् । बत्तीको केन्द्रीय प्रसारण लाइन जोडिएको नम्बर ३ र ५ (सहजपुर र खानिडाँडा)का केही नागरिकले बत्ती बाल्न पाएपनि बाँकी वडा नम्बर १, २, ४, ६ का जनता अँध्यारोमा बस्न बाध्य भएको स्थानीयले बताए ।

चुरेका जनता विद्युत लाइनको पहुँचमा पुगेपनि बत्ती बाल्न नपाउँदा स्थानीय सरकारप्रति उदासिन देखिएका छन् । कापडी गाड खोला जलविद्युत आयोजना प्रभावित चुरेको किम्तोला, खसरे, बजाडी, आम्सेरा, सल्लेबासा, मिलनपुरबासीले स्थानीय सरकारको लावरवाहीले आफूहरु बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको गुनासो गर्दै आएका छन् ।

‘घरघरमा सिंहदरबार’ नारा लगाउने छोटे राजाहरूले चासो नदेखाउँदा र स्थानीयको आवाज छोटे राजाहरूले नसुन्दा र सुनेपनि बेखबरजस्तै बन्दा चुरेका जनता अँध्यारोमा बस्न बाध्य भएको स्थानीयको आरोप छ ।

निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको बत्ती केन्द्रीय प्रसारण लाइन अत्तरियामा जोडिएको छ । केन्द्रीय प्रसारण लाइनमा लगिएको बत्ती चुरे १ का जनताको खेतीयोग्य जमिन हुँदै लगिएको छ । बत्ती बाल्न पाइने भयो भनेर स्थानीयले खेतीयोग्य जमिन नासेर बत्तीको पोल बिस्तार गर्न दिएका थिए ।

बत्तीको पोल पनि बिस्तार भयो, तार पनि तानियो, बत्ती पनि छोडियो तर, स्थानीयले बत्ती बाल्न पाएका छैनन् । जसको बाधक भएको छ, स्थानीय सरकार । र, चुरे गाउँपालिकाका जनप्रतिनिधिहरु । जनप्रतिनिधिकै कारण चुरेमा बत्ती विस्तार हुन नसकेको स्थानीयले आरोप लगाएका छन् ।

बत्ती नहुँदा वडा र गाउँपालिकाको कामकाज गर्नसमेत कठिन भएको बताउँदै वडा नम्बर ४ का अध्यक्ष कृष्ण मल्लले भने, ‘र्सौय बत्ती सोलारको भरमा हामीले कामकाज गर्ने गर्दै आएका छौँ । तर, यो चिसोको समय भएकाले समयमा घाम लाग्दैन, घाम नलाग्दा सोलारको ब्याट्रीहरु चार्ज हुँदैन । कामकाज गर्न समस्या हुने गरेको छ ।’

चुरे गाउँपालिकाको वडा नम्बर १ मा बत्ती विस्तार भएको भए अन्य २ र ४ नम्बर वडामा बत्ती विस्तार गर्न सजिलो हुने चुरे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तारासिं साउदले बताए ।

यता, वडा नम्बर १ मा विधुत सहकारीमार्फत बत्ती विस्तार गर्ने भन्दै वडा अध्यक्ष हुकुम बोहराले कामकाजमा ढिलाइ गर्न थालेको स्थानीयले बताए । स्थानीयका अनुसार वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराको खराब नियतले गर्दा आफूहरू बत्तीमुनिको अध्याँरोमा बस्न बाध्य भएको बताएका छन् ।

वडा अध्यक्ष बोहरा क्षेत्रीयता, वर्गीयता र जातीयताका नारा लगाउनमा ठिक्क भएकाले विकास निर्माणका कार्य थप भएको स्थानीयको गुनासो छ । चुरे गाउँपालिका वडा नम्बर १ बासीले वडा अध्यक्षका कारण गाउँगाउँमा सिंह दरबार आएको महसुस गर्न नपाएको बताएका छन् ।

एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘वडा अध्यक्ष बोहराको खराब नियतका कारण हामी अध्याँरोमा बस्न बाध्य भएका छौँ । वडाअध्यक्ष बोहराले भेगीय नारा लगाउने गरेका कारण विधुत् सहकारीको नाममा विधुत प्रभावित क्षेत्रका जनताले समेत बत्ती बाल्न पाएका छैनन् भने चुरे १ को विकास निर्माण कार्यले गति पाउन सकेको छैन ।’

उनले वडा अध्यक्ष बोहराले चुरे–१ का क्षेत्रमा बराबर विकास गर्नुपर्ने बताउँदै भने, ‘भौगोलिक हिसावले विकट चुरे गाउँपालिका वडा नम्बर १ को सबै गाउँमा विधुत् विस्तार गर्ने भनेर ग्रामिण विधुत् सहकारी संस्था गठन गरिएको छ । तर, वडा अध्यक्षले भेगीय नारा लगाउँदै १ नम्बर वडाको माथिल्लो क्षेत्रमा विधुत् सहकारीमार्फत पोल र तार लाइन विस्तार गर्नुभयो ।’

उनले थपे, ‘तल्लो भेगको किम्तोला, खसरे, शिवनगर, बजाडी, आम्सेरा, सल्लेबासा, मिलनपुर क्षेत्र विधुत् सहकारीमा नअटेको हो कि वडा अध्यक्षको ध्यान नगएको हो ?’

अध्यक्ष बोहरा विधुत् सहकारीको नाममा भ्रष्टाचार गर्न व्यस्त भएको उनले आरोप लगाए । विधुत सहकारीमार्फत बत्ती बिस्तार गर्ने भन्दै वर्षेनी बजेट विनियोजन हुने तर त्यो बजेटको कुनै लेखाजोखा नभएको उनको भनाइ छ ।

‘विधुत् सहकारीमार्फत बत्ती विस्तार हुन्छ भनेको चार वर्ष भइसक्यो तर अहिलेसम्म पनि जनताले बत्ती बाल्न पाएका छैनन् ।’ विधुत् सहकारी पनि माथिल्लो भेग घरखेडा, अलाड, घोडेथर, ओजेना, दिगडा, डुप्केखाली, पालडी, पखिर र निगालीसम्म मात्र भएको उनले बताए ।

चुरे–१ को माथिल्लो भेगमा विद्युत सहकारीमार्फत बत्ती बाल्ने तयारीमा रहेका वडा अध्यक्ष बोहराले जनताको आँखामा छारो हालेको स्थानीय बताउँछन् । विद्युत सहकारीलाई वडा अध्यक्ष बोहराले कमाई खाने थलो बनाएको स्थानीयको आरोप छ ।

स्थानीयले लगाएको आरोप र गुनासोका विषयमा वडा अध्यक्ष बोहरासँग बुझ्दा उनले आफूले काम गरिरहेको र चाँडै बत्ती बाल्ने तयारीमा रहेको बताए । उनले सहकारी विधुतमार्फत माथिल्लो भेगमा बत्ती विस्तार गर्ने र तल्लो भेगमा कापडी गाड जलविद्युत आयोजनाको सब स्टेसनबाट विद्युत बिस्तार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्