Logo
Logo

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न ‘एन–रियो’ गठन, अनलाईबाटै घरजग्गा खरिदबिक्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एजेन्ट र एजेन्सीहरुलाई एकबद्ध गरी घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाईजेशन (एन–रियो)को मेरीयट काठमाण्डौ होटलमा बिधिवत उद्घाटन गरिएको छ । पछिल्लो समय देशमा घरजग्गा कारोबारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएको भन्दै एजेन्ट एजेन्सी, सरकार र अन्य पक्ष संग मिलेर त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मुल्य पत्ता लगाउनका लागी नयाँ संस्था संचालनमा ल्याउनु परेको एन–रियोका अध्यक्ष नरेस सिंहले जानकारी दिए । ‘अहिले काठमाडौं मात्र होइन भर्खर विकासित भइरहेको स्थानमा समेत सामान्य मानिसले घर बनाउनका लागि ४ आना जग्गा किन्न सक्ने अवस्था छैन अनियन्त्रित रुपमा मूल्य निर्धारण भइरहेको छ,’ संस्थाको औपचारिक उद्घाटन समारोहमा उनले भने, ‘अब यस संस्थाले एजेन्ट र एजेन्सीहरु व्यवसायीक ढंगबाट संचालन गर्न प्रोत्साहीत गर्दै जग्गा विक्रेतालाई सहि मूल्य र खरिकर्तालाई सर्वसुलभ मूल्यमा जग्गा उपलब्ध गराउने काम गर्दछ ।’

संस्थाले घरजग्गा खरिदकर्ता तथा बिक्रीकर्तालाई वास्तविक मूल्य थाहा दिन र घर जग्गा कारोबारलाई व्यवस्थित गरी सहजिकरण गर्नका लागि मल्टी लिस्टिङ सिस्टम (एमएलएस) तयार गरिएको जानकारी दिएको छ । उक्त सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्री गर्न लागेको घरजग्गाको बास्तविक मूल्य सहित राख्नेछ भने सोही आधारमा कुनै पनि व्यक्तिले संस्थामा आवद्ध भएका एजेन्ट र एजेन्सी मार्फत खरिद गर्न सक्नेछ । एमएलएस सिस्टममा उक्त संस्थामा आवद्ध भएका सबै ब्रोकरहरुले बिक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन् ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संस्था उद्घाटनको शुभकामना दिदै कठमाण्डौमा भएका एजेन्ट र एजेन्ससिहरुलाई यस संस्थाले व्यवस्थित बनाउन सहयोग गर्न सक्ने बताए । उनले महानगरले बनाउदै गरेको निति तथा कार्यक्रममा यस व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन कसरी सकिन्छ, यस विषयमा छलफल गरी त्यसको खाका लिएर आउन समेत आग्रह गरे साथै स्थानिय सरकार सहकार्य गरी अगाडी बढ्न चाहेको पनि बताए ।

कार्यक्रममा पूर्व सहरि बिकास सचिव तथा इन्ष्टिच्यूट फर अर्वान रिसर्च स्टडिजका अध्यक्ष किशोर थापाले उक्त संस्थाले घरजग्गा कारोबारमा ठूलो सुधार ल्याउन सक्ने बताएका छन् । ‘विकसित देशहरुमा एमएलएस प्रणालीबाट घरजग्गा खरिदबिक्री हुन्छ जसले गर्दा क्रेता र विक्रेता दुबै उचित मूल्यमा कारोबार गर्न सहज हुन्छ भने कुनै पनि स्थानको घर जग्गाको वास्तविक मूल्य थाहा हुन्छ,’ उनले भने, ‘यस संस्थाले नेपालमा पनि घरजग्गा कारोबारमा भइरहेको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नुका साथै सरकारलाई समेत वास्तविक कारोबार मूल्य पत्ता लगाउन सहयोग पुग्ने छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि एन–रियोले घरजग्गा कारोबारलाई मर्यादित र व्यस्थित बनाउन सहयोग पुर्याउने बताए । ‘अहिले व्यक्तिगत रुपमा घरजग्गा कारोबार हुँदा अस्वथ्य प्रतिस्पर्धा बढ्नुका साथै सरकारले समेत राजस्व गुमाउँदै आएको छ,’ उनले भने, ‘संस्थागत रुपमा हुने कारोबारले त्यसलाई व्यवस्थित गराउने छ ।’ घरजग्गा कारोबारलाई प्रविधिमैत्री बनाउँदै लैजान सोही अनुरुपको दक्ष जनशक्ति उत्पादन गर्न समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स एशोसिएशनका उपाध्यक्ष दिपक कुँबरले घरजग्गा कारोबारलाई सहजिकरण गर्न संस्थाले उल्लेख्य भुमिका निर्वाह गर्ने बताए । हाल ठोस कानुन नहुदा घरजग्गा खरिदबिक्रीमा आ आफ्नै ढंगले काम भईरहको जानकारी दिँदै एन–रियो संचालनमा आएसँगै त्यसले थप व्यवस्थित गर्न काम गर्नु पर्ने बताए । पछिल्लो समय राज्यले घरजग्गा कारोबारमा संकुचनकारी नीति अवलम्बन गरेको जानकरी दिँदै त्यसमा सुधार ल्याउन नीतिनिर्माण तहमा समेत लविङ गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा एन–रियोका महासचिव विनोद सुवेदीले संस्थाले आगामी दिनहरुमा घरजग्गा कारोबार सम्बन्धी क्रेता तथा बिक्रेतामा जनचेतना फैलाउने, एजेन्ट र एजेन्सीहरुलाई तालिमका कार्यक्रमहरु संचालन गरी अझ दक्ष बनाउन प्रयास गर्ने, एम एल एसको माध्यमाबाट घर जग्गा कारोबार व्यवस्थित बनाउन काम गरीने, बताएका छन् । संस्थाले घरजग्गा कारोबारमा भइरहेको अस्वस्थ्य प्रतिश्पर्धा रोक्न एजेन्ट र एजेन्सीहरुको माध्यमबाट अनलाईनबाटै कारोबार गर्ने प्रणालीको विकास गर्ने समेत उनले जानकारी दिए । हाल बजारमा घरजग्गाको क्रृतिम मूल्याङ्कन भइरहेको जानकारी दिँदै अबका दिनमा संस्थाले वास्तविक मूल्य निर्धारण गर्न सहयोग पुर्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्