Logo
Logo

एमालेमा निर्वाचित सांसदको बिचल्ली



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को १०औँ महाधिवेशनको क्रममा केन्द्रीय कमिटीको सूचीमा नपरे पनि कृष्णभक्त पोखरेल, रामवीर मानन्धरलगायतका १० निर्वाचित सांसद केन्द्रीय कमिटीमा मनोनीत हुनेमा आशावादी थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले मनोनीतको सूचीमा समेत नपारेपछि निराश भएका उनीहरू जिल्ला अधिवेशनको क्रममा समेत पाखा लगाएपछि आक्रोशित भएका छन् ।

विचौलिया–माफिया र पार्टीमा कुनै योगदान नै नभएका व्यक्ति केन्द्रीय कमिटीमा पर्दा पञ्चायतकालदेखि नै पार्टीको पक्षमा लड्दै आएका र जनमत भएका नेता भने एमालेबाट पाखा लाग्ने अवस्था बनेको छ । पैसाको भरमा एमाले नेतृत्वले मनोमानी गरेको भन्दै कार्यकर्ता पंक्तिमा निराशा र आक्रोश बढेको छ । विधि, पद्धति, क्षमता र योग्यताका आधारमा मुल्यांकनको आशामा बसेका चितवनका पोखरेल, काठमाडौंका मानन्धर मात्र होइन, पर्वतका विकास लम्सालजस्ता संगठन बलियो बनाउन लामो समय योगदान गरेकाहरू एमालेबाट पाखा लाग्ने स्थिति बनेको छ ।

केन्द्रीय कमिटीमा नपरेपछि मानन्धर काठमाडौं जिल्ला कमिटी हाँक्ने योजनामा थिए । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठलगायतले उनलाई प्रतिष्पर्धासमेत गर्न दिएनन् । ईश्वर पोखरेलनिकट भएकै कारण दिपक निरौलालाई सर्वसम्मतिको नाममा काठमाडौं जिल्ला कमिटीको अध्यक्ष घोषणा गरियो । मानन्धरले बैठकमा पटक–पटक कुरा उठाउँदासमेत कुनै सुनुवाइ भएन । निर्वाचन भएको भए निरौलालाई मानन्धरले सहजै हराउने स्थिति रहेको एमाले काठमाडौँका नेताहरू बताउँछन् । सर्वसम्मतको नाममा उपाध्यक्ष बनाइएका नवराज पराजुलीले त सपथ समेत लिएका छैनन् । आकांक्षीले निर्वाचनमा जोड दिइरहेको बेला सर्वसम्मतको नाममा पोखरेल र श्रेष्ठले निरंकुशता लादेपछि कार्यकर्ता रुष्ट बनेका छन् ।

वाम गठबन्धनपछि मात्रै निर्वाचन जितेका पोखरेल र श्रेष्ठले पार्टीमा हाबी हुने देखेर मानन्धरलाई प्रतिष्पर्धाबाटै बाहिर धकेलेको स्रोत बताउँछ । लामो समय केपी शर्मा ओलीलाई साथ दिएका मानन्धर अहिले उनै ओलीबाट पीडित हुनुपरेको गुनासो गर्छन । मानन्धरले पञ्चायत, निरंकुश राजतन्त्रसँग लडेकाले अब व्यक्तिवादविरुद्ध पनि लड्ने निकट नेता तथा कार्यकर्तालाई बताएका छन् । टिकट पाएपिच्छै निर्वाचन जितेको, संघीय मन्त्रीसमेत भइसकेको व्यक्तिलाई जिल्ला कमिटीमा प्रतिष्पर्धासमेत गर्न नदिएपछि मानन्धरलाई विद्रोह गर्न निकटवर्तीहरूले सुझाव दिन थालेका छन् ।

वाम गठबन्धनपछि मात्रै निर्वाचन जितेका पोखरेल र श्रेष्ठले पार्टीमा हाबी हुने देखेर मानन्धरलाई प्रतिष्पर्धाबाटै बाहिर धकेलेको स्रोत बताउँछ । लामो समय केपी शर्मा ओलीलाई साथ दिएका मानन्धर अहिले उनै ओलीबाट पीडित हुनुपरेको गुनासो गर्छन । मानन्धरले पञ्चायत, निरंकुश राजतन्त्रसँग लडेकाले अब व्यक्तिवादविरुद्ध पनि लड्ने निकट नेता तथा कार्यकर्तालाई बताएका छन् । टिकट पाएपिच्छै निर्वाचन जितेको, संघीय मन्त्रीसमेत भइसकेको व्यक्तिलाई जिल्ला कमिटीमा प्रतिष्पर्धासमेत गर्न नदिएपछि मानन्धरलाई विद्रोह गर्न निकटवर्तीहरूले सुझाव दिन थालेका छन् ।

योग्यलाई पाखा लगाएर ओलीले आफ्नालाई काखी च्याप्दा लुम्बिनी प्रदेशमा केही क्षमतावान नेताहरुले एमालेको जिम्मेवारी छाड्ने तयारी गरेका छन् । एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङका निवर्तमान अध्यक्षले पार्टी छोड्ने अवस्था आएको छ । दाङका निवर्तमान अध्यक्ष टिकाराम खड्काले एमालेको चुनावी प्रकृयाप्रति पूर्ण असहमति जनाउँदै लामो राजनीतिक जिम्मेवारीबाट अलग रहेको घोषणा गरेका छन् ।

अर्घाखाँचीका एमाले नेता खुबिराम आचार्यले पनि सर्वसम्मत नेतृत्व छनोटमा असन्तुष्टि जनाएका छन् । निर्विरोध निर्वाचित कमिटी खारेज नगरे सामुहिक राजीनामा दिने चेतावनी आचार्यले दिएका छन् ।

मकवानपुरमा पनि एकलाल श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएपछि अध्यक्षका आकांक्षी बद्री लम्सालले चर्को विरोध गरेका छन् । एमालेभित्र विधि र विधान भन्दा नेताको निगाहले काम गर्न थालेपछि कार्यकर्तामा थप निराशा र आक्रोश छाएको छ ।

आफ्नो पक्ष बलियो भएको जिल्लामा ओलीले निर्वाचनमार्फत र आफ्नो पक्ष कमजोर भएको जिल्लामा सहमतिको नाममा पेलेरै आफुपक्षीय नेतालाई जिल्ला नेतृत्व दिलाएका छन् । राम्रालाई छाडेर, हाम्रालाई च्याप्दा एमालेभित्र ठूलै हलचल आएको छ । फरक मत राख्नेलाई जसरी पनि निमिट्यान्न पार्ने र आफ्नो भक्तिभाव गाउनेलाई जुनसुकै सर्तमा नेतृत्वमा ल्याउने रणनीति कार्यान्वयन गर्न एमाले नेतृत्व जिल्ला अधिवेशनमा पनि सफल भएको छ । कम्युनिष्ट मूल्य, मान्यतामा विश्वास गर्नेहरूले देवत्वकरण स्वीकार नगर्दा पाखा लाग्नुपर्ने भएको छ ।

बढी झुक्ने प्रतिष्पर्धा

ओलीलाई मूल नेतृत्व मान्न एमालेका सबै नेता तथा कार्यकर्ता तयार भएकै हुन् । तर, ओलीसामू को बढी झुक्ने भन्ने प्रतिष्पर्धाले एमालेलाई नराम्ररी गाँजेको छ । १०औँ महाधिवेशनबाट सतहमा देखिएको असन्तुष्टि जिल्ला अधिवेशनसम्म आइपुग्दा भुसको आगो झै भएको छ ।

संकटको बेलामा साथ दिएका नेतालाई ओलीले पेल्ने नीति लिएपछि एमालेमा कालो बादल मडारिन थालेको छ । योग्यता नपुगेकालाई केन्द्रीय कमिटीमा लगेका ओलीले लामो समय पार्टीलाई संकटमोचन गराएका नेतालाई पाखा लगाउनुको कारण दिन सकेका छैनन् । पार्टीलाई जनताबीच प्रभाव पार्नसक्ने नेताहरू निरन्तर पाखा लागिरहेका छन् । ओलीको भक्तिभाव गाउनेहरू मात्रै बढुवा हुने नयाँ संस्कार एमालेमा बसेको छ । जनाधार कमजोर भएका नेताहरू ओलीको उत्तराधिकारी दाबी गरिरहेका छन्, जनतामा भिजेका नेताहरू विद्रोह वा मौन बस्नुपर्ने अवस्था आएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्