Logo
Logo

शिशु हत्या गर्न लगाउने युवकलाई जन्मकैद



धनगढी । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो ।

राजकुमारमाथि भाउजु नाता पर्ने युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो । राजकुमारले पटकपटक दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी खुवाई उक्त शिशुको हत्या गरेकी थिइन् ।

उक्त मुद्दामा बाजुरा जिल्ला अदालतले राजकुमारलाई निर्दोष भन्दै सफाइ दिएको थियो । तर, मंगलबार उच्च अदालतका कामु न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै, युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ । विषादी जडिबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ ।

शिशु हत्याका अधिकांश मुद्दाहरूमा बालक जन्माउने आमालाई मात्र दोषी ठहर गर्ने गरिएको छ । तर, यसपटक उच्च अदालतले हत्या गर्न दबाब दिनेलाई समेत सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्