Logo
Logo

सत्तारुढ तीन शीर्ष नेताबीचकाे बैठक सकियो


5.7k
Shares

काठमाडौं । सत्ता गठबन्धनमध्ये तीन दलको बैठक सकिएको छ । एमसीसीबारे सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताबीच शुक्रबार बिहान छुट्टै बैठक बसेको हो । बैठकको निर्णयबारे नेताहरुले केही बोलेका छैनन् ।

यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडान गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायत नेताबीच आज प्रचण्डनिवास खुमलटारमा बैठक बसेको थियो ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने बताउँदै आएको छ । यस्तै, एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने जनाएको छ । एकीकृत समाजवादीको आज स्थायी कमिटी बैठक बस्दैछ ।

आजै पाँच दलीय सत्ता गठबन्धनको पनि बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

सत्ता गठबन्धनको बिहीबार बसेको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्ता साझेदारीको प्रस्ताव राखेको बताइएको छ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्