काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलले एमसीसीबारे अडान नछाड्ने भएका छन् ।
शुक्रबार बिहान खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले अडान नछाड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।
पाँच दलीय सत्तारुढ बन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
खुमलटार बैठकपछि एक नेताले भने, ‘एमसीसीबारे छलफल भएको हो । हाम्रो पूर्ववतः अडान परिवर्तन भएको छैन ।’
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा एमसीसीबारे समान धारणा कसरी बनाउने ? भन्नेबारेमा छलफल भइरहेको छ ।
बिहीबार बेलुका बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गर्नुपर्ने बताएपछि गठबन्धनमा खटपट देखिएको छ ।











