
काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।
सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको उनको भनाई छ । ‘एमसीसीमा एमालेको कुनै धारणा छैन् । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन’, उनले भने ।
एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीसंग भेटेका थिए ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस गर्ने सरकारको तयारी छ । सत्तारुढ दलहरूका बीचमा सहमति भने जुटिसकेको छैन ।
एमाले संसदीय दलका नेम्वाङ संसदमा एमालेको रणनीति परिवर्तन नभएको बताए । उनले आज पनि विरोध जारी राख्ने बताएका छन् । एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।











