काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विविध सांस्कृतिक पहिचानका रूपमा रहेका विभिन्न जातजातिका मातृभाषा लोप भए नेपालको मौलिक सांस्कृतिक पहिचान मेटिने भएकाले संरक्षणमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको मातृभाषा राष्ट्रि«य कविता महोत्सव २०७८ उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उनले भावी सन्ततिका लागि भाषा र संस्कृति संरक्षण एवं संवर्द्धन गर्नुपर्ने बताए ।
‘विद्यालय तहमा मातृभाषामा पठनपाठन गराउन स्थानीय सरकारले काम गर्नुपर्छ, नेपालमा बोलिने मातृभाषामध्ये झन्डै ४० प्रतिशत लोपोन्मुख अवस्थामा पुग्नु दुःखदायी हो, एक दशकअघि मातृभाषामा संवाद गर्ने गरेकामा अहिले अङ्ग्रेजी प्राथमिकतामा पर्दा लोप हुन लागेको छ, अङ्ग्रेजीमै शिक्षा र ज्ञान राम्रो हुन्छ भन्ने भानले पनि मातृभाषा संरक्षणमा अप्ठ्यारो भएको छ’, उपराष्ट्रपति पुनले भने ।
प्रतिष्ठानले कविता महोत्सव गरेजस्तै मातृभाषामा साहित्यका अन्य विधामा पनि गतिविधि अघि बढाउन उनले सुझाव दिए । मातृभाषालाई स्थानीय सरकारका कामकाजका भाषाका रुपमा पनि स्थापित गर्नुपर्ने भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ नगर्न नहुनेमा उपराष्ट्रपति पुनको जोड थियो ।














