काठमाडौं । नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो ।
नेपाल टोलीमा एकमात्र परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफुले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए ।
यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन् ।
नेपाल प्रतियोगिताको एकमात्र अपराजित टोली हो । नेपालले सोमबार क्यानडामाथी ८ विकेटको सहज जित निकालेको थियो । सबै ३ खेल जितेर समूह ‘बी’ को विजेता बनेको नेपालले यसअघि घरेलु टोली ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो ।











