
रौतहट । जनमत पार्टी नेपाल रौतहटले ५ बुँदे माग राख्दै मंगलवार जिल्ला निर्वाचन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ ।
जनमत पार्टी रौतहटका अध्यक्ष रामेश्वरप्रसाद यादव नेतृत्वको समूहले जिल्ला निर्वाचन अधिकृत छोटेलाल साहलाई ज्ञापनपत्र बुझाएको हो ।
निर्वाचन गराउनु पूर्व किसान आन्दोलनको माग पूरा गर्नुपर्ने, निर्वाचन आयोगमा दर्ता भएका तथा आयोगबाट चुनाव चिन्ह पाइसकेका दलहरुलाई स्थानीय तहको निर्वाचनमा देशभरी नै सोहि चुनाव चिन्ह वितरण गर्नुपर्ने, बहुसंख्यक मतदाताको परिचयपत्र नष्ट भइसकेको वा हराइसकेको हुँदा सम्पूर्ण मतदातालाई पुनः मतदाता परिचयपत्र वितरण गर्नुपर्ने र नागरिकता परिचयपत्र देखाएर मतदान गर्न पाउने प्रावधान बनाउनुपर्ने जनमत पार्टीको माग रहेको छ ।
यसैगरी निर्वाचनको क्रममा निर्वाचन आयोग र निर्वाचन अधिकृतले सबै दलसँग समान व्यवहार गर्दै निष्पक्ष रुपमा काम गर्नुपर्ने समेत जनमतले माग गरेको छ ।











