काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक बोलाएका छन् । परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधबार अपराह्न ४ बजे परिषद्को बैठक बोलाइएको छ ।
विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण काठमाडौंमा न्यायाधीशलाई काज खटाउने प्रायोजनका लागि परिषद्को बैठक बोलाइएको हो ।

आज बस्ने परिषद्को बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा रहेको बताइएको छ । विशेष अदालतमा चार महिनायता अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त छ ।
गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको थियो ।
उक्त आदेश आएको भोलिपल्टै बसेको न्याय परिषद्को बैठकले विशेषका अध्यक्ष कार्की तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा गरेको थियो ।














