काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताए ।
राजनीतिक परिवर्तनलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए। उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहीँ सत्य नभएको स्पष्ट पारे ।
उनले भने, ‘खतरा त बढेकै छ नि। यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहीँ होइन ।’
त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे ।














