काठमाडौं । रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले पछिल्लो समय रुस र युक्रेनबीचको विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै तनाव बढ्न नदिन उच्च संयमता अपनाउन आग्रह गरेको छ ।
‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ’ विज्ञप्तिमा भनिएको छ ।

रूसले केही दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनु राष्ट्रसंघको बडापत्रविपरीत भएको नेपालले उल्लेख गरेको छ ।
‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ’ विज्ञप्तिमा भनिएको छ ।
रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्ने घोषणा गरिसकेको छ । यससँगै अहिले रुस र युक्रेनबीचको तनाव उत्कर्षतिर गएको छ ।














