काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुकको निकासका लागि सत्ता गठबन्धन भत्कन अनिवार्य भएको बताएका छन् । प्रतिनिधि सभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन रहेसम्म देश अनिर्णयको बन्दी हुने देखिएको बताएका हुन्. ।
उनले भने, ‘गुटभित्रको संकट ल्याएर पार्टीमा र पार्टीको संकट गठबन्धनमा ल्याएर पेस गर्दा भूराजनीतिक असफलतामा हामी फस्न लागेका छौं । सत्ता गठबन्धनको यही विवादका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको बदनाम भएको छ ।’
सत्ता पक्षले पेस गरेको सबै कुरा पारित गराउन प्रतिपक्षले सहयोग गर्ने भन्ने कुरा नहुने भन्दै उनले एमसीसी पनि सत्ता पक्षकै दायित्व भएको बताए । उनले भने, ‘विपक्षीलाई एमसीसी पास गर्ने दायित्व छैन । यो पास गर्ने कुरा सत्ता पक्षको दायित्व हो, गठबन्धन भत्काउन हामी धुम हाल्न गएका छौं । यो भत्कन मुलुकका लागि अनिवार्य छ। गठबन्धन रहेसम्म मुलुक अप्ठारोमा रहन्छ ।’














