काठमाडौं । आज पनि विभिन्न दल तथा जनवर्गीय संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल गर्ने कार्यसूची रहेको छ । बैठक आज दिउँसो १ बजे बस्दैछ ।

यसैबीच एमसीसीको विपक्षमा रहेका दलहरुले प्रदर्शन गर्न लागेका हुन् । शुक्रबार बिभिन्न ३४ वटा राजनीति दलहरुले एमसीसीविरुद्ध प्रदर्शन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।
एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।
शुक्रबार एमसीसीविरुद्ध प्रदर्शनको कार्यक्रम राख्नेमा नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र नेकपा (माओवादी) रहेका छन् ।
नेकपा माओवादी केन्द्र निकट जवस/मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम गर्ने कार्यक्रम राखेका छन् । विहान ११ बजे माइतीघर मण्डलमा भेला हुने उनीहरुको कार्यक्रम छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्दैछ । नेमकिपाले कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएको छ । नेपालका लागि नेपाली पार्टीले एमसिसी सम्झौता विरुद्ध विहान साढे ११ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएको छ ।
यस्तै, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजेबाट विरोध कार्यक्रम सुरु गर्ने उनीहरुले जनाएका छन् ।
नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियानले एमसिसी सम्झौता विरुद्ध साढे १२ बजे पुरानो बानेश्वरमा भेला भई विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । प्रदर्शन नयाँ बानेश्वर पुगि सभामा परिणत हुने बताइएको छ । एमसिसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलमा साढे १२ बजे एमसिसी विरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।














