
काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ वर्ष अगाडि महाकाली सन्धि गर्न सरकारले पारित गरेको संकल्प प्रस्ताव कहाँ छ ? भन्दै प्रश्न गरेका छन् ।
अनुमोदनका लागि संसदमा पेस गरिएको एमसीसी र एमसीसीको अंगको रुपमा पारित गर्न लागिएको ‘व्याख्यात्मक घोषणा’को दफावार छलफलमा सहभागी हुँदै सांसद रावलले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन् ।
विगतमा संसदबाट संकल्प प्रस्ताव पारित गर्दै महाकाली सन्धि गरेर राष्ट्रघात गरिनु र आज व्याख्यात्मक घोषणा गर्दै एमसीसी अनुमोदन गर्नु उस्तै रहेको सांसद रावलको धारणा रहेको छ ।
छलफलका क्रममा सांसद रावलले भने– ‘विगतमा संकल्प प्रस्तावमार्फत महाकाली सन्धि गरेर राष्ट्रघात गरिएको थियो । ठिक त्यसरी नै आज पनि व्याख्यात्मक घोषणा गर्दै राष्ट्रघात गरिँदै छ । प्रधानमन्त्रीज्यू खोइ त्यो संकल्प प्रस्ताव कहाँ छ ?’
४ साउन ०५३ मा संसद्मा दर्ता भएको महाकाली सन्धि संसद्मा २७ भदौ ०५३ मा निर्णयार्थ पेस हुनुपर्नेमा तीन पटकसम्म रोकिएको थियो । अन्ततः ४ असोज ०५३ मा संसद्को संयुक्त बैठकबाट महाकाली सन्धि दुईतिहाइ बहुमतले पारित भएको थियो । उक्त सन्धि नेपालमा राष्ट्रघातको रुपमा व्याख्या हुँदै आएको छ ।











