काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद मीनबहादुर विश्वकर्मले अमेरिकाबाट नेपालको सार्वभौम सत्ता र स्वाभिमानमा कुनै आँच नआउने दाबी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसी सम्झौतामाथिको बुँदागत छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सो कुरा बताएका हुन् ।
उनले भने, ‘नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो भनेर संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्ने, नेपालको विकासमा ठुलो सहयोगी अमेरिकाले नेपाल र नेपाली जनताको हितमा प्रदान गरेको अनुदानको विषयमा भ्रम फैलाइएको छ ।’
उनले एमाले सांसद् भीम रावलप्रति लक्षित गर्दै एमसीसीका नाममा भ्रम छर्ने काम नगर्न आग्रह पनि गरे । एमसीसी सम्झौतामा उल्लेख बुँदाको गलत अर्थ लगाएर ‘काउ माने गधा’ हुन्छ भनेर पढाउने काम भएको पनि विश्वकर्माले टिप्पणी गरे ।
उनले दुई ठुला छिमेकीको तुलनामा नेपालको आर्थिक वृद्धिदर कम भएकाले ऋणमा भर पर्नुपर्ने बाध्यता रहेको अवस्थामा यस्ता अनुदान सहयोग महत्त्वपूर्ण रहने बताए ।
उनले भने, ‘नेपाली जनताको हितमा अमेरिकाले यो अनुदान दिएको हो, नेपाल दुई छिमेकी राष्ट्र ठूला छन् । त्यसैले अनुदान, ऋण र अरु सहयोग पनि लिनुपर्ने अवस्था रहेको छ र लिनुपर्छ।’











