
काठमाडौं । विवेकशील साझा पार्टीले संसद बैठकबाट एमसीसी अनुमोदन गरिनु चिन्ता र खेतजनक रहेको बताएको छ । सो पार्टी आज विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन र प्रतिपक्ष दलको अपरिपक्व र गैर जिम्मेवारीका कारण नेपालमा चीन र अमेरिकको अस्वभाविक सक्रिया बढेको पनि बताएको छ ।
चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपाल जस्तो मुलुकका लागि शुभ संकेत नभएको सो पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिनु नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
विवेकशील साझाले एमसीसी निहित राजनीतिक स्वार्थहरूका कारण पारिएको भन्दै संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु चिन्ता र खेदजनक रहेको जनाएको छ ।
‘विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ। संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो’, विज्ञप्तिमा भनिएको छ ।
सो पार्टीले जनताले आगामी निर्वाचनमा कस्तो खालको नेतृत्व चुन्ने उक्ता मौकाको सदुपयोग गर्न नागरिकलाई अपिल समेत गरेको छ ।











