Logo
Logo

विदेशबाट फर्कदा कति सुन ल्याउन पाइन्छ ? लागू भयो नयाँ प्रावधान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार ।
खाडी मुलुकबाट सानो परिमाणमा हुने सुन तस्करी रोक्न सरकारले यात्रुले ल्याउने र लैजाने सामग्रीसम्बन्धी प्रावधान हेरफेर गरेको छ । तर, नयाँ प्रावधानले सुन तस्करी गर्नेलाई झन् सहज हुने चिन्ता प्रहरीको छ । नयाँ प्रावधानअनुसार विदेशबाट दुई सय ५० ग्राम (करिब २२ तोला)सम्म सुन ल्याउन पाइने व्यवस्था भएको छ । विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार विदेशबाट फर्कँदा नयाँ प्रावधानअनुसार सय ग्रामसँग काँचो सुनसमेत ल्याउन पाइन्छ ।

६ महिना समय विदेश बसेर फर्किएकाले मात्र काँचो सुन ल्याउन पाउनेछन् । काँचो सुन ल्याउँदा ५० ग्रामसम्मको ६ हजार दुई सय तथा त्यसपछिको ५० ग्रामको सात हजार दुई सय (प्रतिग्रामको सात सय २० रुपैयाँ) भन्सार तिर्नुपर्छ । नयाँ प्रावधानअनुसार सुनका गरगहना दुई सय ५० ग्रामसम्म ल्याउन पाइनेछ । यसअघि एक सय ग्रामसम्म मात्र ल्याउन सकिन्थ्यो । धेरै ल्याउन पाउने प्रावधानले तस्करी गर्नेलाई सहज भएको छ ।

५० ग्रामसम्मको भन्सार शुल्क तिर्नुपर्दैन
सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क तिर्नुपर्दैन । ५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको पाँच हजार दुई सय, ५० देखि एक सय ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ, एक सय ५० देखि दुई सय ग्रामसम्मको प्रति १० ग्राम सात हजार दुई सय तथा दुई सयदेखि दुई सय ५० ग्रामसम्मको प्रति १० ग्राम नौ हजार दुई सय रुपैयाँ भन्सार तिर्नुपर्छ ।

‘अब हामी दुई सय ५० ग्रामसम्म सुनका गहना ल्याउँदा पक्राउ गर्दैनौँ,’ विमानस्थल भन्सार प्रमुख ठाकुरले भने, ‘तर यति गहना ल्याएको छु भनेर भन्सारमा देखाउनुपर्छ, भन्सार चेकिङमा लुकाउने पक्राउ परेमा कारबाही गरिन्छ ।’ तर, ५० ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार शुल्क तिर्नु नपर्ने भएकाले सोही प्रावधानको दुरुपयोग गरी तस्करी भइरहेको छ । अब झन् बढ्ने जोखिम छ । वैदेशिक रोजगारबाट फर्कने युवाहरूलाई ५० ग्रामका गहना बोक्न लगाएर तस्करी हुने गरेको छ । यसअघि एक सय ग्रामभन्दा धेरै सुनका गहना ल्याउनेको समेत सुन जफत गरी कारबाही हुने गरेको थियो । तर, अब दुई सय ५० ग्रामसम्म ल्याउँदा पक्राउ नगरिने र भन्सार शुल्क मात्र तिराइने भएको छ । यसले तस्करी बढ्ने प्रहरी अधिकारीको चिन्ता छ ।

नयाँ प्रावधानले खाडी मुलुकमा हुने तस्करी रोकिने दाबी
व्यक्तिलाई दिएको सुविधा दुरुपयोग गरी तस्करी गरेको पाइएमा पक्राउ गरी कारबाही गरिने विमानस्थल भन्सार प्रमुख ठाकुर बताउँछन् । नयाँ प्रावधानले खाडी मुलुकबाट हुने सुन तस्करी रोकिने उनको भनाइ छ । ‘५० ग्रामभन्दा धेरै ल्याउँदा हामीले जुन भन्सार दर राखेका छौँ, त्यसबाट तस्करी गर्नेलाई खासै फाइदा हुँदैन,’ उनी भन्छन्, ‘त्यसकारण जोखिम मोलेर कसैले तस्करीको सुन किन्दैन भन्ने लाग्छ ।’ नयाँ प्रावधानपछि पक्राउ पर्नेको संख्या पनि नगन्य रहेको उनले बताए । विगतमा पक्राउ पर्नेमध्ये ८० प्रतिशत कानुनको जानकारी नहुँदा फसेकाले नयाँ प्रावधान लागू गरिएको उनले बताए । बजेट भाषणमार्फत सरकारले ‘यात्रुले ल्याउने र लैजाने सामग्रीसम्बन्धी सूचना’ हेरफेर गरेको हो । १६ जेठदेखि नयाँ प्रावधान लागू भएको हो ।

विदेशीले जति पनि सुनका गहना लगाएर आउन पाउने
नेपाल आउने विदेशीले अब जति पनि सुनका गहना लगाएर आउन पाउने भएका छन् । तर, ५० ग्रामभन्दा धेरै सुन लगाएर आउँदा उनीहरूले भन्सार घोषणा गर्नुपर्छ । दुई सय ग्रामसम्म सुनका गहना उनीहरूले लगाउन पाउने र त्यसभन्दा धेरै सुनका गहना लगाउनुपरेमा त्यसको २० प्रतिशत धरौटी रकम भन्सारमा राख्नुपर्ने ठाकुरले बताए । त्यस्तै, धरौटी राख्न नचाहेमा भन्सारकै लकरमा गहना राख्न सकिने र फर्कँदा लिन मिल्ने व्यवस्थासमेत भन्सार कार्यालयले विदेशीलाई गरेको छ । तर, विदेशी नागरिकले काँचो सुन भने लिएर आउन पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्