काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् ।

बुधबार भक्तपुरको सिपाडोलमा भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक बिद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बताए ।
उनले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको पनि बताए ।
एमाले सरकारले बिकासका निकै काम गरेको र फेरि पाँच बर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उनले बताए ।
वर्तमान सत्ता गठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिँदै उनले भने, ‘यो कुहिएको गठबन्धन झरेपछि फेरि मुलुक बिकासको बाटोमा अघि बढ्ने छ ।’ उनले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको बिकासको काम नै अवरुद्ध भएको जिकिर गरे ।
अध्यक्ष ओलीले शिक्षा क्षेत्रको बिकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा बिद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।














