
काठमाडौं । कांग्रेसलाई पैसाको बलमा चुनाव जितेको आरोप लगाउने एमालेले केपी ओली अध्यक्ष भएपछि सोही पथ अंगालेको छ । एउटा पार्टीले ठेकेदारलाई उठाएपछि पैसाकै बलमा जित्ने आँकलनसहित अन्य दलले पनि ठेकेदारलाई टिकट दिने गरेका छन् । टिकट पाएका कतिपय ठेकेदार भने अर्को ठेकेदारसँग पराजित भएका छन् ।
एमालेले दर्जनौँ ठेकेदारलाई निर्वाचनमा टिकट दिएको थियो । तीमध्ये सुजाता कन्स्ट्रक्सनका भरतबहादुर केसी दोलखाको भीमेश्वर नगरपालिकाको मेयर बनेका छन् । सनम कन्स्ट्रक्सनका मुरारीप्रसाद खतिवडा संखुवासभाको खाँदबारी नगरपालिकाको मेयर बनेका छन् भने वन्दना कन्स्ट्रक्सनका विदुर लिङथेप संखुवासभाकै मादी नगरपालिकाको मेयर बनेका छन् ।
यस्तै, एमालेले पण्डित निर्माण सेवाका सन्जु पण्डितलाई नुवाकोटस्थित विदुर नगरपालिकाको मेयर बनाएको छ भने अधिकारी निर्माण सेवाका नेत्रराज अधिकारी कपिलबस्तुस्थित शिवराज नगरपालिकाको मेयर बनेका छन् ।
कांग्रेसले ठेकेदारहरू भीमबहादुर साउदलाई परशुराम नगरपालिका डडेलधुरा, किरण सिंहलाई कपिलबस्तु नगरपालिका, भीमबहादुर थापालाई सुनवल नगरपालिका नवलपरासी, भुपेन्द्रबहादुर चन्दलाई भेरीगंगा नगरपालिका सुर्खेत, शिवप्रसाद ढकाललाई सुन्दरहरैचा नगरपालिका मोरङ, रविन राईलाई रतुवामाई नगरपालिका मोरङ, पदमबहादुर गिरीलाई बुढीगंगा नगरपालिका बाजुरा र अमरसिंह धामीलाई शैलिशिखर नगरपालिका दार्चुलाको मेयर बनाएको छ ।
जनयुद्ध लडेर आएको माओवादी केन्द्रले पनि पैसाकै बलमा ठेकेदारलाई टिकट दिएको थियो । जसमध्ये गोर्खबहादुर केसी आठविसकोट नगरपालिका रुकुम पश्चिमको मेयर बनेका छन् भने लबशेर विष्ट थाहा नगरपालिका मकवानपुरको मेयर बनेका छन् ।














