
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न भन्दै सरकारले न्यायिक समिति गठन गरेपछि गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् ।
उनले आफू निलम्बनमा परेको हल्ला सुनेको तर औपचारिक पत्र नपाएको बताएका छन् । सरकारले छानबिनका लागि गठन गरेको न्यायिक समितिले गर्ने छानबिनमा आफ्नो पूर्ण सहयोग रहने पनि उनले बताए ।
उनले आफूले न्यायिक समितिबाटै न्याय पाउनेमा विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति समेत गठन गरेको थियो । त्यस लगत्तै सरकारले निलम्बन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र गभर्नर अधिकारीबीचको सम्बन्ध बिग्रेको थियो । गभर्नर अधिकारी अर्थमन्त्रीका कारण अर्थतन्त्रमा संकट पैदा भएको भन्ने प्रकृतिका अभिव्यक्ति दिने गरेका थिए ।
अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समय अघिदेखि द्वन्द्व सुरु भएको थियो । वित्तीय प्रणालीमा देखिएको असन्तुलन र यसलाई समाधान गर्नको लागि ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।
गत असोजमा अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या, तरलता अभाव, मुलुकको वर्तमान अर्थतन्त्रलगायतका विषयमा नेपाल राष्ट्र बैंकसँग जवाफ मागेका थिए ।
तर गभर्नर अधिकारीले भने आफू कोभिड १९ बाट संक्रमित भएको बहाना बनाउँदै अर्थमन्त्रीले सोधेको कुनै पनि प्रश्नको जवाफ अर्थ मन्त्रालयलाई दिएका थिएनन् । गर्भनर बर्खास्त भएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।














