Logo
Logo

पर्यटन प्रवद्धर्नमा लाग्न विदेशीस्थित नियोग प्रमुखलाई सरकारको निर्देशन


630
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।

“हामीलाई यतिबेला बिदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईंहरूले विशेष भूमिका खेल्नुपर्छ”, उनले भने, “रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड १९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सिर्जना गर्नुस् ।”

चैत महिनामा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको जानकारी दिँदै उहाँ यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो औँल्याए । “विप्रेषण बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ । रेमिट गर्नेहरूलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्”, उनले भने ।

आगामी आवको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए ।

“हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्न सक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौँ”, उनले भने, “गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौँ ।”

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकारअघि बढेको बताए । कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस्