
चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताएका छन् ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राखे ।
जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उनले भने– ‘यो समुदायले राजनीतिमा पहुँच बढाउन आवश्यक छ ।’ राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उनको भनाइ रहेको छ । राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न समेत उनले आग्रह गरेका छन् ।
सो अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमु प्ये ल्हु सङ्घ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
महाधिवेशन मङ्गलबारसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन ६५ जिल्लाका झण्डै एक हजार प्रतिनिधि चितवन आएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।














