काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई)को साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको बताए । त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेका उनले बताए ।
सभामुख सापकोटाले निजी क्षेत्रसँग ज्ञान, सीप, प्रतिभा र क्षमता सबै भएको भन्दै वर्तमान आर्थिक जटिलताबाट पार पाउन पनि यस क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे ।
देशमा लगानी विस्तार तथा अन्य वातावरण बनाउन सभामुखका तर्फबाट खेल्नुपर्ने भूमिका इमान्दार भएर पूरा गर्न आफू तयार रहेको उनको भनाइ थियो ।
उनले आर्थिक विषयमा सरकार र निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा जोड दिँदै भने, ‘हामीले दीर्घकालीन सोचका साथ काम गर्नुपर्छ । अल्पकालीन कार्यनीतिका पछाडि अलमल्लिनु हुँदैन ।’
सभामुख सापकोटाले निजी क्षेत्रको क्षमतालाई प्रयोग गरेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।














