Logo
Logo

सनराईज बैंकमा सीईओ नियुक्तिको लफडा, सञ्चालक समिति भंग गर्ने केन्द्रीय बैंकको चेतावनी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बेला बेलामा ताईं न तुईंको विषयमा लफडा पर्ने र पार्ने बैंकहरूमध्ये सनराईज पनि एउटा हो । अहिले बैंकमा निरज श्रेष्ठलाई नयाँ सीईओमा नियुक्ती दिनुुअघि नै बैंक सञ्चालकहरूबिच चर्को मतभिन्नता देखिएको छ । विशेषगरी सञ्चालक शैलेन्द्र गुरागाईंले सञ्चालक समितिको सामूहिक निर्णय बेगर बैंकमा सीईओ नियुक्त गर्न खोजिएको भन्दै निहुँ खोजेर निर्णय पुस्तिकामा हस्ताक्षर नगरेपछि सनराईज बैंकको पछिल्लो लफडा छताछुल्ल भएर बाहिर आएको हो ।

सनराइट बैंकको उक्त विवाद नेपाल राष्ट्र बैंकमा अनौपचारिक रूपमा समेत पुगेको छ । केन्द्रीय बैंकले निक्षेपकर्ताको हितमा समस्या पर्ने वा संस्थाको साखमा धक्का पुग्ने अवस्था आउने देखेमा तत्काल सञ्चालक समितिलाई बोलाएर छलफल गर्ने मुड बनाएको छ । स्रोतका अनुसार सीईओ नियुक्ती सम्बन्धी विवाद समाधान नभए राष्ट्र बैंकले तत्काल सनराईज बैंकको सञ्चालक समिति भङ्ग गर्नसक्ने चेतावनी अनौपचारिक रूपमा दिइसकेको छ ।

हाल नेपाल राष्ट्र बैंकमा समेत पुगिसकेको उक्त विवादको सतहमा गुरागाईं देखिएपनि दुईजना दुगडको जुँगाको लडाईंमा निरजको नियुक्तीको विषय परेको बैंकका उच्च तहका कर्मचारी नै बताउँछन् । सञ्चालक समितिको अध्यक्ष रहेका मोतीलाल दुगड र सदस्य रहेका मालचन्द दुगडबीच पछिल्लो पटक ‘को अध्यक्ष बन्ने’ भन्ने विषयदेखि नै बैंकमा नयाँ लफडाको शुरुवात भएको हो । मालचन्द अध्यक्ष बन्न खोज्दा मोतीलालले प्राविधिक बहुमतले आफूलाई हराएको भन्दै मालचन्द त्यसको बदला लिने पक्षमा शुरुदेखि नै थिए र शैलेन्द्रले मात्र उनलाई त्यसबेला देखि नै सहयोग गर्दै आएको मोतीलाल पक्षकाले बताएका छन् । अहिले निरजलाई सीइओ नियुक्त गर्न खोज्ने मोतीलाल पक्षलाई अप्ठेरोमा पार्न मालचन्दको रोडम्यापमा शैलेन्द्र गुरागाईं हिँडेको पनि उनीहरूको आरोप छ ।

बैंकको जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि निरजलाई सीईओ नियुक्त गरेको हो । असार २ गते सोमबार नै जिम्मेवारी सम्हाल्ने गरी उनलाई नियुक्त गरिएको थियो । तर, सीईओ नियुक्तीको विवाद चर्को हुँदै गएपछि बैंकले नेपाल स्टक एक्सचेञ्जलाई गत साता प्रेषित गरेको पत्रमा हाललाई बैंकले कायम मुकायम सीइओ नियुक्त गरेको व्यहोरा उल्लेख गरेको छ । बैंकले गत साता आशा राणा अधिकारीलाई कायम मुकायम सीईओमा नियुक्त गरी नेपाल राष्ट्र बैंकलाई हस्तक्षेप गर्नबाट रोकेको बुझिएको छ । अर्कोतर्फ, केही समयसम्म विवाद मत्थर गरी पुनः निरजलाई नै सीईओमा नियुक्त गर्ने प्रपञ्चका साथ अधिकारीलाई कायम मुकायमको जिम्मेवारी दिइएको पनि मालचन्द पक्षले बताएको छ । यसअघि बैंकले नयाँ सीईओमा नियुक्तीको लागि लक्ष्मण रिसाल, जनक शर्मा पौडेल, अनुजमणि तिमिल्सिना र निरज श्रेष्ठलाई छनौट गरेको थियो । रिसाल, पौडेल, तिमिल्सिना र श्रेष्ठलाई छुट्टाछुट्टै समूहको समर्थन थियो । त्यसमध्ये श्रेष्ठलाई सबैभन्दा धेरै सञ्चालक समितिका सदस्यको समर्थन रहेकाले उनी नै सीईओमा नियुक्त हुनेमा कुनै सन्देह थिएन । तर, मालचन्दको उक्साहटमा गुरागाईंले देखाएको नाटकीय व्यवहारले बैंकको छबी मै ‘कालो धब्बा’ लागेको बहुमत सञ्चालकहरूले बताएका छन् ।

निरज यसअघि माछापुच्छ«े बैङ्कमा सीईओ थिए । त्यहाँ पनि उनले कार्यकाल पूरा नगरी छाडेका थिए । तरपनि सनराइजको बहुमत सञ्चालकहरूको समर्थनमा उनलाई रत्नराज बज्राचार्य पछि सीईओ बनाउने योजना बनाइएको थियो । सञ्चालक समितिको बैठकपछि बैंकसँग करारनामामा सम्झौता गरेका श्रेष्ठलाई कार्यभार सम्हाल्नुु अघि नै बैंक सच्चालकहरूबाटै अवरोध पुर्याएपछि पहिलो गाँस मै ढुंगा लागे सरह भएको छ । सीईओ नियुक्तीको विषय रहेको बैठकमा सातजना सदस्यमध्ये मालचन्द दुगड र शैलेन्द्र गुरागाईं अनुुपस्थित थिए । तर, मालचन्दले अस्वस्थताको कारण उपस्थित हुन नसक्ने बताए तापनि उनीहरूको अनुुपस्थिति योजनाबद्ध थियो वा आकस्मिक त्यो चाँही दुबै पक्षले हालसम्म बताउन चाहेका छ्रैनन् । तर, बैठक चलिरहँदा गुरागाईंले मालचन्द समेत बैठकमा अनुपस्थित भएकाले म पनि आउँदिन भन्दै अध्यक्ष मोतीलाललाई फोन गरेर बताउनुले उनीहरूको अनुपस्थिति ‘योजनाबद्ध’ नै रहेको अर्को पक्षको दाबी छ ।

त्यसपछि लगत्तै बोलाइएको सञ्चालक समितिको अर्को बैठकमा भने शैलेन्द्र उपस्थित भए तर, मालचन्द पुनः अनुपस्थित । बैठकमा अघिल्लो बैठकले गरेको सीईओ नियुक्तीको निर्णयमा हस्ताक्षरको प्रक्रिया अघि बढेपछि त्यहीबीचमा शैलेन्द्रलाई फोन आएको एकजना सञ्चालकले बताएका छन् । उक्त फोनवार्ता पछि एकाएक उनी आफूले अहिले उक्त निर्णयमा हस्ताक्षर नगर्ने र मालचन्दसँगै पछि गर्ने भन्दै टकटकिए । तर पनि सोही बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारीको चार वर्षको लागि करारनामामा हस्ताक्षर गरायो । अनौपचारिक रूपमा गुरागाईंले श्रेष्ठको नियुक्तीप्रति आफ्नो समर्थन रहेको बताएपनि निर्णयमा हस्ताक्षर गरेका छैनन् । तर, मालचन्दले भने अनौपचारिक रूपमा उक्त निर्णयमा हस्ताक्षर नगर्ने बताएको पनि स्रोतले दाबी गरेको छ ।

सनराइट बैंकको उक्त विवाद नेपाल राष्ट्र बैंकमा अनौपचारिक रूपमा समेत पुगेको छ । केन्द्रीय बैंकले निक्षेपकर्ताको हितमा समस्या पर्ने वा संस्थाको साखमा धक्का पुग्ने अवस्था आउने देखेमा तत्काल सञ्चालक समितिलाई बोलाएर छलफल गर्ने मुड बनाएको छ । स्रोतका अनुसार सीईओ नियुक्ती सम्बन्धी विवाद समाधान नभए राष्ट्र बैंकले तत्काल सनराईज बैंकको सञ्चालक समिति भङ्ग गर्नसक्ने चेतावनी अनौपचारिक रूपमा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्