Logo
Logo

त्रिविको गोल्ड मेडल बिक्रि प्रकरणः वानेश्वर क्याम्पसका कर्मचारी पनि पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ किनबेचमा संलग्न थप एक पक्राउ परेका छन् । बानेश्वर क्याम्पसका कर्मचारी केदार भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
अर्थशास्त्रको एमए विषयमा फेल भएपनि उनले पैसा खुवाएर प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए ।
यसअघि आयोगले सुरेन्द्र कोइराला र परिक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामु कर्माचार्यलाई पक्राउ गरिसकेको छ । गोल्ड मेडलिष्ट बन्नका लागि कोइरालाले डेढ लाख दिएर आफ्नो नाम थपेका थिए । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको छ ।

पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको बताएका छन् । न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ । कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए । ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको हुन सक्ने आशंका गरिएको छ ।

पाटन क्याम्पसका विद्यार्थी कोइराला नतिजा आउँदा फेल भएका थिए । तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित भएर अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि गोल्ड मेडल किनबेच हुने गरेको खुलेको हो ।

अधिवक्ता कोइरालाले बिचौलियाका रूपमा समेत काम गरेको अनुसन्धानमा देखिएको छ । उनले यसअघि उच्च माध्यमिक शिक्षा परिषद् तथा नेपाल विद्युत् प्राधिकरणमा समेत कानुनी परामर्शदाताका रूपमा काम गरेका थिए । अख्तियारले पनिकाका अन्य कर्मचारीमाथि समेत सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्