Logo
Logo

अख्तियारले दुई एसपीलाई बोलायो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई एसपीमाथि छानबिन थालेको छ । सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरेको घटनामा एसपी मुकुन्द मरासिनी र रमेश थापामाथि छानबिन सुरु भएको हो । उनीहरु दुवैलाई आयोगले पत्र काटेको छ ।
सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा एक इन्सपेक्टर हाल अख्तियारकै हिरासतमा छन् । इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी एक महिनायता आयोगको हिरासतमा छन् । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो । पूर्वी नवलपरासीका तत्कालिन एसपी रमेश थापासँग मिलेर उनले नक्कली अभियुक्त खडा गरेको खुलेको हो । थापाको हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका थिए । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए । चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।

इन्स्पेक्टरसँगै व्यवसायी पाण्डे र नक्कली चालक चौधरीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । अन्य प्रहरीको संलग्नताबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । दुर्घटनाको मुचुल्कादेखि अभियोजनसम्मको चलखेलमा धेरै प्रहरी संलग्न रहेको स्रोत बताउँछ । दुर्घटनाकै दिन इलाका प्रहरी कार्यालयले चालक बोधराज पाण्डेलाई पक्राउ गरिएको रिपोर्टिङ बेलुका जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)मा गरेको थियो । तर, तीन सातापछि भने किसुन चौधरीविरुद्ध मुद्दा दायर भएको थियो ।

दुर्घटनाका दोषी व्यवसायी पाण्डेका भाइ शालिकरामले प्रहरीसँग मध्यस्थकर्ताको काम गरेका थिए । उनी हाल फरार छन् । उनले नै नक्कली चालकको नाम इन्स्पेक्टर जिसीलाई एसएमएसमार्फत पठाएका थिए । दुर्घटनाका वेला चालक चौधरी घटनास्थलमा नदेखिएको मोबाइल लोकेसनबाट समेत प्रस्ट भएको छ । इन्स्पेक्टरलगायत प्रहरीले आर्थिक लेनदेन गरेको प्रमाणको खोजीमा अख्तियार लागेको छ । नियोजित रूपमा वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेकाले इन्स्पेक्टरलगायत प्रहरीविरुद्ध फौजदारी कसुरसमेत लाग्ने भएको छ ।

त्यस्तै एसपी मरासनीमाथि पनि छानबिन सुरु भएको छ । १७ चैत ०७३ मा तिलोत्तमा नगरपालिका–७ मा दुर्घटना भएको थियो । लु.७प ७८६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गुरुप्रसाद आलेको मृत्यु भएको थियो । मोटरसाइकलचालक दुर्गा केसी थिए । चालक केसीको सवारीचालक अनुमतिपत्र(लाइसेन्स) थिएन । लाइसेन्स नभई सवारी चलाएर दुर्घटना गराउँदा कडा सजाय हुने प्रावधान छ । त्यसकारण नक्कली चालकको रूपमा मिथुन भण्डारीलाई खडा गरेर उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

घटनाको उजुरी परेपछि प्रहरीबाट आन्तरिक छानबिन भएको थियो । छानबिनमा नक्कली चालक खडा गरिएको पुष्टि भएको थियो । इप्रका बुटवलका तत्कालीन डिएसपी मुुकुन्द मरासिनी, इन्स्पेक्टर भीमलाल भट्टराई र मुद्दा शाखाका प्रहरीलाई सचेत गराएर छाडिएको थियो । रुपन्देहीका तत्कालिन एसपी रबिन्द्र धानुकले मरासिनीमाथि सामान्य कारबाही मात्र गरेर उन्मुक्ति दिएका थिए ।
हाल मरासनी जिप्रका सिन्धुपाल्चोकका प्रहरी प्रमुख छन् । अख्तियारले छानबिन गरिरहेकै बेला उनलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अमेरिका तालिममा पठाउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्