Logo
Logo

भीमदत्तनगरमा कांग्रेसका लागि माओवादी–समाजवादी गठबन्धन भारी


1.4k
Shares

भीमदत्तनगर । गत स्थानीय तह निर्वाचनमा अन्तर्घातका कारण पराजित भएका नेपाली कांग्रेसले यसपटक मेयर जित्ने बलियो आकलन गरेको छ । तर, उसका लागि गठबन्धनभित्रै स्वच्छ प्रतिस्पर्धामा उत्रिएका माओवादी र एकीकृत समाजवादीका उम्मेदवार तगारो बनेका छन् ।

कञ्चनपुर जिल्लामा तालमेल नभएपछि गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । समाजवादी केन्द्रले मेयरमा यसअघिका वडाअध्यक्ष तथा नगर प्रवक्ता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । माओवादीले भने महाकालीका कुलमान भनेर चर्चित कृष्णदत्त जोशी ‘बोक्सर’लाई अघि सारेको छ । दुवै जना नगरमा निकै परिचित र स्वच्छ छवि भएका मानिन्छन् ।

कांग्रेसले यसअघिकै पराजित मेयर पदम बोगटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसभित्र एनपी साउद र रमेश लेखक गुटबीच अस्वस्थ्य लडाइँको असर यसपटक समेत देखिने जानकार बताउँछन् ।

एमालेबाट भने विद्यार्थी नेता महेश पन्त उम्मेदवार बनेका छन् । भीमदत्तनगरमा संगठनका हिसाबले कांग्रेस र एमाले मुख्य हुन् । तर, एमालेको विभाजनपछि भने संगठन कमजोर बनेको हो ।

यसअघि एमालेका तर्फबाट विजयी भएका मेयर सुरेन्द्र विष्ट केपी ओली समूहमा लागेपनि उनी घनश्याम भुसाल निकट भएकोले ओली पक्षले उनलाई मन पराउँदैनन् ।

हाल जिल्ला अध्यक्षसमेत रहेका उनले सिफारिस गरेका जिल्लाका उम्मेदवारहरुलाई केपी ओलीले बदर गर्दै करिब करिब सबै स्थानमा नयाँ उम्मेदवार घोषणा गरेपछि उनले पुनः मेयरमा उम्मेदवार नदिने घोषणा गरेका थिए । यदि, उनी उम्मेदवार भएको खण्डमा भने कांग्रेसको टक्कर उनीसँग हुने अवस्था सिर्जना हुन्थ्यो ।

एकीकृत समाजवादीका मेयर उम्मेदवार राजेन्द्र पाण्डे वडा नं. १८ का पूर्ववडाध्यक्ष हुन् । भीमदत्तको सबैभन्दा ठूलो र निर्णायक महत्व राख्ने यो वडाले जीत र हारमा ठूलो अर्थ राख्छ । पाण्डे यसअघि विष्ट मेयर भएको बेला नगर प्रवक्ता समेत थिए ।

त्यसैले नगरपालिकाको काम कारवाही, समस्या र चुनौतीबारे उनी मज्जैले जानकार छन् । तर सुरुआती चरणमा मेयर विष्टसँग उनको सम्बन्ध राम्रो भए पनि पछिल्ला दिनमा भने उनले मेयर घेराबन्दीमा परेको र नगरपालिकामा सुशासनको अभाव भन्दै विष्टको विरुद्धमा उभिएका थिए ।

युवामाझ उनी निकै लोकप्रिय रहेका छन् । र, उनलाई साथ दिएका छन् माओवादीका तर्फबाट उपमेयर कृष्णदत्त जोशी बोक्सरले । बोक्सर नामले परिचित जोशी यसअघि महाकाली अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्षसमेत थिए ।
अस्पतालको इतिहासमा बोक्सरको कार्यकाल सबैभन्दा सफल मानिन्छ । उनले आइसियू कक्षदेखि डाक्टरको व्यवस्था र अस्पताललाई पूर्ण सेवा सुविधासम्पन्न बनाउन निकै मेहनत गरेका थिए । त्यसैले उनलाई कुलमान भनेर समेत कतिपयले चर्चा गर्ने गर्दछन् ।

शिक्षण पेशाको लामो अनुभव बोकेका जोशी कुनै कुरामा लागेपछि त्यसलाई पूर्ण बनाएरै छाड्ने स्वभावका छन् । त्यसैले उनलाई कुनै पार्टीको ट्याग लाग्ने सम्भावना कम छ । उनले लोकप्रिय मतका आधारमा उपमेयरमा जित्ने सम्भावना बलियो बनेको हो ।

यसरी यी कतिपय कारणले गर्दा कांग्रेसका लागि गठबन्धनकै दलका उम्मेदवार चुनौती बनेका हुन् । तर, यसभन्दा अर्को फ्याक्टरले पनि भीमदत्तमा अर्थ राख्छ ।

भीमदत्त नगरपालिकामा डडेल्धुरा र बैतडी जिल्लाका अधिक मतदाता रहेका छन् । हरेक निर्वाचनमा डोट्याल (डडेल्धुरावासी) र बैतडा (बैतडीवासी)को नारा निर्वाचन जितहारको मुख्य कारकसमेत बन्ने गरेको छ ।

अहिले कांग्रेसबाट उम्मेदवार बनेका डडेल्धुराका हुन् भने समाजवादीका पाण्डे बैतडीका हुन् । नेकपा एमालेका उम्मेदवार पन्त समेत बैतडीका हुन् । यसअघि यही डोट्याल बैतडाको नाराले रमेश लेखक (जो बैतडीका हुन्)ले बोगटीलाई असहयोग गरेको कारण कांग्रेस पराजित हुनुपरेको चर्चा अहिले पनि चल्ने गरेको छ ।

त्यसैले कांग्रेसका बोगटीले कांग्रेसको संगठित मत बाहेक बैतडीको मत कम पाउने सम्भावना देखिन्छ । यो अवस्थामा बझाङ घर भएका माओवादीका उपमेयर बोक्सरका कारण बैतडी, दार्चुला र बझाङ, अछामलगायतको मत एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई जाने देखिन्छ ।

एमालेका महेश पन्त भने संघर्षशील नेता भएपनि अनुभव नभएका कारण उनले संगठनात्मक र नातागोताको मत पाउने अवस्था मात्रै रहेको आकलन गरिएको छ ।

यसरी हेर्दा कञ्चनपुरमा यसपटक अप्रत्यासित नतिजा आउने अनुमान गर्न सकिन्छ । बोगटी कांग्रेसका पुराना नेता भएपनि आमजनतामाझ भने उनी लोकप्रिय छैनन् । स्वभावले ‘रिजर्भ’ देखिने बोगटीले पार्टीको र रमेश लेखक पक्षले विगतझै पूर्ण सहयोग गर्न नसक्ने सम्भावनाका कारण क्षेत्रीय मतमात्रै पाउने सम्भावना बढी हो । यो अवस्थामा पाण्डे र बोक्सरको लोकप्रियताका कारण दुबैले पपुलर मत पाउने अवस्था बढेको हो ।

एकीकृत समाजवादी र माओवादी केन्द्रले नगरका १९ वटै वडामा तालमेल गरेका छन् । दुवैले संयुक्त चुनावी प्रचार गरिरहेका छन् । एमाले विभाजनपछि कार्यकर्ता र नेताहरुको ठूलो पंक्ति एकीकृत समाजवादीतर्फ गएकाले उनीहरुको संगठनात्मक अवस्थासमेत मजबुत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्