काठमाडौं । स्थानीय निर्वाचनमा यतिबेला सर्वत्र चासोको केन्द्र बन्न पुगेको छ चितवनको भरतपुर । भरतपुरमा सत्ता गठबन्धनका उम्मेदवार रेणु दाहाल, एमाले–राप्रपा गठवन्धानका विजय सुवेदी र कांग्रेसका ‘बागी’ जगन्नाथ पौडेलबीच प्रतिश्पर्धा हुने निश्चित भइसक्यो ।
पाँच दशकदेखि कांग्रेसमा क्रियाशिल र स्थानिय रुपमा लोकप्रिय नेता जगन्नाथको उम्मेदवारीले प्रतिस्पर्धा थप पेचिलो बनेको छ । सत्ता गठबन्धनलाई चुनौती थपिएको छ भने एमालेमा आशा पलाएको छ ।

गठबन्धनबाट साझा उम्मेदवार रेणुले अब एमालेका विजय र कांग्रेसका बागी जगन्नाथ सामना गर्नुपर्ने देखिएको छ । तर सर्सर्ती हेर्दा पाँच दलीय गठबन्धन नै बलियो देखिन्छ ।
गठबन्धनको आधिकारीक उम्मेदवार रेणु भएका कारण भरतपुर कांग्रेसका कम्तीमा ७५ प्रतिशत मतदाताले रेणुलाई नै मतदान गर्ने प्रारम्भिक अनुमान छ । अहिलेदेखि नै भरतपुर महानगरपालिकाको माहोल गठबन्धनको पक्षमा तातेको छ ।
यसअघि भरतपुरको मेयर पदमा प्रतिस्पर्धा गर्ने बेला रेणु भरतपुरका लागि नयाँ अनुहार थिइन् । अहिले उनलाई भरतपुरका अधिकाशंले चिनिसकेका छन् । मेयरका रुपमा उनले गरेका राम्रा कामले पनि रेणुलाई स्थापित गरिसकेको छ । जसले गर्दा रेणुका लागि भरतपुरको मेयर पदमा विजयी यात्रामा केही सहजता थपिएको छ ।
रेणु मेयरमा आएपछि भरतपुर महानगरपालिकाले विकासमा फड्को मारेको छ । यहाँ ७०–८० अर्बको बजेट छ । नारायणी किनारमा अहिले पाँच अर्बको तटबन्ध बनाउने परियोजना सञ्चालन भएको छ । नारायणी नदी किनारलाई ‘सी बिच’ (समुद्री किनारा) का रूपमा अगाडि बढाइँदैछ । एशियाकै उत्कृष्ट सिटीहल भरतपुरमै बन्दैछ । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणाधीन अवस्थामा छ । यसरी पाँच बर्षको अवधिमा भरतपुर महानगरपालिकामा रेणुले आफुलाई विकासप्रेमी व्यक्तिका रूपमा स्थापित गरिसकेका छन् ।
भरतपुरबाट पश्चिमतर्फ जाने दोलालघाटतर्फ तटबन्ध निर्माणका लागि पाँच अर्बको बजेट परेको छ । भरतपुरमा ६ लेनको बाटो बन्दैछ । चोकचोकमा सार्वजनिक शौचालय बनेका छन् । कति ठाउँमा बन्ने प्रक्रियामा छन् । चितवनमा माओवादी केन्द्रको संगठन आफैमा बलियो छ ।
विकासले बदलिएको भरतपुरमा एक्ला–एक्लै निर्वाचनमा गएको भए पनि माओवादीले जित्नसक्ने ठाउँ हो । अर्कातर्फ माओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलको भरतपुरमा प्रभाव शुन्य देखिएको छ । भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रको भागमा परे पनि उपमेयरसहित २० वडा कांग्रेसले पाएको छ ।
यता रत्ननगर, कालिका र खैरहनी नगरपालिका कांग्रेसले मेयर पाएको छ । राप्ती नगरपालिकामा नेकपा एकीकृत समाजवादीले पाएको छ । यसरी एक ठाउँ विग्रँदा सबैतिर अफ्ठ्यारो पर्ने भएका कारण गठवन्धनका दलहरु यसतर्फ सजग छन् ।
भरतपुरमा कांग्रेसको निर्वाचन चिह्न रुखबाहेक अर्को चिह्नमा भोट हाल्दैनौँ भन्ने जमात पनि नभएको होइन, तर त्यसले गठवन्धनलाई असर नगर्ने प्रारम्भिक विश्लेषण गठबन्धनको छ ।
अघिल्लो निर्वाचनमा रेणुले मेयरमा ४३ हजार एक सय २७ मत पाएका थिए । एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार नौ सय २४ मत ल्याएका थिए । राप्रपाका उम्मेदवारले ६ हजार आठ सय ४२ मत पाएका थिए ।
भरतपुर महानगरपालिकाका २९ वटा वडामध्ये एमालेले १३ वडा र कांग्रेसले ११ वडामा जितेको थियो । माओवादीले वडा नं. १३ मा पूरै प्यानल, वडा नं. २५ र २६ मा वडाध्यक्ष जितेको थियो । अहिले एमाले फुटेको छ । तर यहाँ एमालेले राप्रपासँग तालमेल गरेको छ । तै पनि सर्सर्ती हिसाब लगाउँदा पनि एमालेलाई जित्न सातदेखि आठ हजार मत पुग्दैन ।
अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा १ लाख ५० हजार दुई सय ७४ जना मतदाता थिए । यसपटक भने मतदाता बढेर १ लाख ८५ हजार सात सय ५२ पुगेको छ । कांग्रेसका बागी उम्मेदवार पौडेलले कति मत काट्छन् भन्न सकिने अवस्था अहिले छैन । तर असन्तुष्ट कांग्रेसका मत एमालेमा जानबाट रोकिने अनुमान चितवन कांग्रेसको छ । नत्र एमालेले गठवन्धन गरेको राप्रपाका मत र कांग्रेसका असन्तुष्ट मत थपिँदा एमालेका विजय सुवेदीलाई बल पुग्थ्यो । खासमा पौडेलको उम्मेदवारीले एमालेलाई तनाव भएको बुझाई स्थानिय कांग्रेस कार्यकर्ताको छ ।
गत स्थानिय निर्वाचनमा कांग्रेसका असन्तुष्ट कार्यकर्ताले करिव चार हजार मत देवी ज्ञवालीलाई हालेको अनुमान छ । यस चुनावमा यी असन्तुष्ट मत पौडेलको भागमा जाने संभावना छ । गठवन्धन दलका मत र एमालेमा जाने कांग्रेसको मत ‘ब्लक’ हुँदा रेणुको जित सुनिश्चित रहेको प्रारम्भिक अनुमान छ । गएको पाँच बर्षमा रेनुले भरतपुरमा यसै पनि राम्रो काम गरेर देखाएका छन् । वडा तहसम्म लोकप्रियता आर्जन गरेका छन् । अनि यसैमा पनि महिलाको शक्ति थपिएको छ ।














