Logo
Logo

शीर्ष नेताको चुनावी दौडधुप बढ्दै


378
Shares

सुदूरपश्चिम । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यस्तै, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिए ।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा (देउवा) कैलालीकोे लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधवार डडेलधुरा पुगेकी छन् ।

कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन । नेकपा एमालेलगायतका दलले भने एकलरुपमा उम्मेदवारी दिएका छन् ।

पालिका तहको प्रमुख तथा उपप्रमुखमा गरिएको तालमेलप्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्