Logo
Logo

को हुन् हेटौंडा उपमहानगर प्रमुखका उम्मेदवार मीना लामा ?


शिव चौलागाईं

6.4k
Shares


मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीनाकुमारी लामा चुनावी अभियानमा व्यस्त छन् । पाँच दलीय गठबन्धनले उनलाई उपमहानगरको प्रमुखमा उम्मेदवार बनाएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबाट साझा उम्मेदवार बनेकी लामा एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्षसमेत हुन् ।

यसपटक हेटौंडा उपमहानगरको नेतृत्व लिने दौडमा होमिएकी उनी टोलटोलमा ‘अब प्रमुख बनेर सिंगो उपमहानगरको विकास गर्ने’ बाचा गरिरहेकी छन् । यसअघि सफलतापूर्वक कार्य सम्पादन गरेकाले पनि यसपटक चुनाव जित्नेमा उनी विश्वस्त छन् ।

२०३३ साल पुस २७ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा जन्मिएकी उनको बाल्यकाल साधारणमै बित्यो । २०४६ सालबाट विद्यार्थी जीवनमै राजनीतिमा होमिएकी उनले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एलएलबीसम्म अध्ययन गरी राजनीतिक यात्रालाई सशक्त रुपमा अगाडी बढाइन् ।

०५२ सालमा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भइन् । त्यससँगै अध्ययन र राजनीतिलाई अगाडी बढाउँदै आएकी मीना ०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भइन् ।

०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव बनिन् । ०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष भई पदीय जिम्मेवारी सम्हाल्न पूर्णरुपमा सफल भइन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उप–प्रमुखमा भारी मतले विजय हासिल गरेकी मीना महिलाहरुको समस्या र गुनासोलाई सम्बोधन गर्न पाउँदा आफूलाई निक्कै गौरवबोध हुने बताउँछन् ।

बालविकासको क्षेत्रमा १० वर्ष काम गरेकी छन् । उनी भन्छिन्, ‘बालबालिका तथा महिलाका क्षेत्रमा काम गरेको भएर हुनसक्छ, उनीहरुको हरेक सुख, दुखले मलाई छुने गरेको छ ।’

सन् ०१८ देखि लाइन्स क्लब अफ पाथिभराको सदस्य बनेकी मीना विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै क्रियाशील छन् । उनी भन्छिन्, ‘विभिन्न देशले अबलम्बन गरेका विकास नीतिलाई आफ्नो ठाउँमा पनि कार्यान्वयन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।’
सामाजिक क्षेत्रको अनुभव, राजनीतिकमा आफूले निर्वाह गरिरहेको भूमिका, घरपरिवार, महिला तथा बालबालिकाको क्षेत्रबाट पाइरहेको हौसलाले आफू चुनाव जित्छु भन्नेमा उनी विश्वस्त छन् ।


‘उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट मलाई उम्मेदवार बनाइएको छ । मैले जित्नु भनेको सबै उपमहानगरका दिदीबहिनीले जित्नु हो’ मीना भन्छन्, ‘हेटौंडा उपमहानगरपालिकामा विजयी भएपछि गठबन्धनका तर्फबाट गरिएका वाचाहरु पूरा गर्नेछु, साझा सल्लाह, सहमतिमा अघि बढ्नेछु । जनताको मत खेर जान दिनेछैन ।’

प्रतिक्रिया दिनुहोस्