Logo
Logo

निगमका अध्यक्ष अधिकारीमाथि छानबिन



काठमाडौं । विभागीय मन्त्री नै असन्तुष्ट भएपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पद ६ महिनामै धरापमा परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले अधिकारीको क्षमता र काम गराइमा असन्तुष्ट बनेका छन् ।

मन्त्री आलेले निगमले थालेको साउदीतर्फको उडानमा पहिलो दिनको विषय र ट्वीनअटर जहाजबारे अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । अधिकारीको विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव टोकराज पाण्डेको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिएको छ । अधिकारीले एक कर्मचारीलाई कार्यकक्षभित्रै थुनेर हत्तोत्साही बनाउँदा बेहोस भएको विषयमा समेत छानबिन समितिले अध्ययन गर्ने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले अधिकारीलाई हटाउन मन्त्री आलेलाई निर्देशन दिइसकेको छ । सरकारी स्वामित्वमा रहेको निगमलाई अधिकारीले निजी सम्पत्तिसरह प्रयोग गर्दै आएको भन्दै निगमका कर्मचारीहरू रुष्ट छन् ।

निगमका कर्मचारी सम्बद्ध टे«ड युनियनका संस्थाहरूले अधिकारीले निगम सञ्चालन गर्न नसक्ने भन्दै राजीनामा मागेका छन् । मन्त्री आलेले छानबिन समितिको प्रतिवेदनको आधारमा अधिकारीलाई कारबाही गर्ने बचन दिएको एक कर्मचारीले दृष्टिलाई बताए ।

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समिति नै खडा गरेर कर्मचारीहरूले अधिकारीविरुद्ध आन्दोलन थालेका छन् ।

नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवर, नेपाल वायुसेवा निगम नेपाल राष्ट्रिय कर्मचारी संघका अध्यक्ष राजु श्रेष्ठ र नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंहले आन्दोलनको नेतृत्व गरेका छन् । तीनवटै ट्रेड युनियनले अधिकारीमाथि १५ आरोप लगाएका छन् ।

चिनियाँ जहाजको सही व्यवस्थापन गर्न उदासिनता देखाएको, निगमलाई अगाडि बढाउने कार्ययोजना बनाउन नसकेको, कर्मचारीको हितविपरीत आफैँले पहल गरी सर्वोच्चको पत्र ल्याएको आरोप कर्मचारीको छ ।

कर्मचारीको नियमित वृत्तिविकास नभएको, आफ्नो रुटमा अरुलाई जहाज चलाउन दिएर ट्वीनअटर जहाज भाडामा दिएको, सरकार, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको सहकार्य इतिहासमै सबैभन्दा कमजोर बनाएको आरोप पनि अधिकारीमाथि कर्मचारीले लगाएका छन् ।

अधिकारीको विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव टोकराज पाण्डेको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिएको छ । अधिकारीले एक कर्मचारीलाई कार्यकक्षभित्रै थुनेर हत्तोत्साही बनाउँदा बेहोस भएको विषयमा समेत छानबिन समितिले अध्ययन गर्ने बताइएको छ ।

यस्तै, कोभिडको कारणले निगमबाट निकालिएका कर्मचारीहरूलाई सञ्चालक समितिको निर्णयअनुसार पुनः काममा लगाउनुपर्नेमा खुला प्रतिष्पर्धाबिना नयाँ कर्मचारी भर्ती गरेको, निगमको सम्पत्ति उपयोगको रणनीतिक बनाउन नसकेको, जहाजहरूको इन्धन मर्मतको दिन नजिकिँदै गर्दा पनि त्यससम्बन्धी तयारी नगरेको, एकैपटक दुवै जहाज ग्राउन्डेड हुँदाको नोक्सानी नजरअन्दाज गरेर बसेको आरोप कर्मचारीहरूले अधिकारीमाथि लगाएका छन् ।

नारिता, हङकङजस्ता नाफामूलक सेक्टरहरूमा फ्लाइट थप गर्न पहल नगरी अपारदर्शी काम गर्न खोजेको, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज थप गर्न मन्त्रालयको पूर्णरूपमा सहयोग हुँदाहुँदै पनि अधिकारीले पहल नगरेको आरोप लगाइएको छ ।

विगत लामो समयदेखि निगमका विदेशस्थित कार्यालयहरूमा आवश्यक कर्मचारीहरुको सरुवा नगरी नियोजितरुपमा निगमलाई धरासायी बनाउने खोजेको, पछिल्लो समय निगमको व्यापार तथा आयआर्जन राम्रै हुँदासमेत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको साँवा र ब्याज नतिरेको आरोप कर्मचारीले लगाएका छन् ।

यस्तै, माथिल्लो तहका जिम्मेवार कर्मचारीहरूलाई अनावश्यक काममा दबाब दिई पदसमेत छाड्न बाध्य बनाई अधिकारी निजी स्वार्थमा लिप्त भएको आरोप पनि कर्मचारीहरूले लगाएका छन् ।

हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निकट भविष्यमै सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ग्राउन्ड ह्याण्डलिङ सर्भिसका लागि आवश्यक गुरुयोजना बनाउन नसकेको आरोप पनि कर्मचारीहरूले अधिकारीमाथि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्