Logo
Logo

पूर्व मन्त्रीसहित समाजवादी पार्टीका २० नेता नेकपा प्रवेश गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार ।
समाजवादी पार्टी नेपालबाट पूर्व मन्त्रीसहित २० जना नेता तथा कार्यकर्ता नेकपा प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति र सघीय समाजवादी फोरम एकता भएपछि असन्तुष्ट रेहका पूर्व मन्त्री एवं नेता कल्पना धमला, नेता देवेन्द्र पराजुलीलगायतका नेता कार्यकर्ता प्रवेश गर्न लागेका हुन् ।


बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा धमला र पराजुलीसहित नेता कार्यकर्ता प्रवेश गर्ने भएका छन् ।‘कल्पना जी र म नेकपा प्रवेश गर्न लागेका छौं,’ नेता पराजुलीले भने, ‘ पार्टीका अरु साथीहरु को(को प्रवेश गर्ने बेलुका टुंगो हुन्छ ।’ धमला बाबुराम भट्टराई सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन् । भने नेता पराजुली नयाँ शक्तिको संघीय परिषदका सदस्य थिए । यसअघि उनी तत्कालीन नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षसमेत भएका थिए ।

दुवै नेताले बाबुराम भट्टराईलाई लामो समय साथ दिएका नेता थिए । तर भट्टराईले सफल नेतृत्व दिन नसकेको भन्दै उनीहरु निराश भएका थिए ।
नेकपा नेता कृष्णगोपाल श्रेष्ठका अनुसार बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कार्यक्रम गरी पार्टी प्रवेश गराउने टुंगो लागेको छ । उनका अनुसार धमला र पराजुलीसहित लगभग २० जना पार्टी प्रवेश गर्ने टुंगो भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भई निलम्बनमा रहेका दीपक मनाङे (राजिव गुरुङ) समेत नेकपा प्रवेश गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्