काठमाडौं । हिमालय एअरलाइन्सका वरिष्ठ उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेका छन् । यो टोलीले सन् २०२२ को मे १६ अर्थात यही जेठ २ सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको हो ।

स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग एअरलाइन्सकी उडान परिचारिका डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् । सकुशल आरोहणबाट फर्केपछि गैरीधारामा अवस्थित एअरलाइन्सको मुख्य कार्यालयमा उनलाई स्वागत गरिएको थियो ।

एअरलाइन्सद्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए । टोलीलाई बधाई दिँदै उनने भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । सुश्री ओमनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं ।’
उनले उक्त परियोजानामा धेरै जोखिम र चुनौतीहरू रहेको बताउँदै भने, ‘म हरेक दिन उहाँको सुरक्षाका लागि चिन्तित थिएँ । तर, पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ ।’

हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्घर््न गर्ने उद्देश्यले सुरु गरेको थियो । त्यसपश्चात् एअरलाइन्सले आफ्ना उडान परिचारिका डंगोलका साथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेका थिए ।
सगरमाथा आरोहण परियोजनाले चरम प्रतिकूल परिस्थितिका बावजुद पनि हिमालयले देखाउने लगनशीलता र साहसको प्रतिकात्मक प्रतिनिधित्व गर्ने उनको विश्वास छ । उनले भने, ‘विगतका वर्षहरुमा हिमालयले धेरै चुनौती र अवरोधहरूको सामना गर्नुपरेको थियो । हिमालयले ती चुनौती र अवरोधहरूलाई दृढ इच्छाशक्ति र दृढ संकल्पका साथ पार गर्दै आएको छ ।’
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यहरु मध्य नेपाली पर्यटन प्रवद्र्घन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवद्र्घनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौँ ।’
परियोजना सफल रूपमा सम्पन्न भएपछि डंगोलले भने, ‘सर्वोच्च शिखरमा हिमालय एअरलाइन्सको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको क्षण थियो । मेरो यात्रामा धेरै चुनौतीहरू थिए तर मेरो ध्यान सधैं केवल शिखरमा पुग्नुमा थियो । यस्तो जीवनमै एकपटक मात्र पाउन सक्ने यस विशेष अवसरको मलाई अनुभव गर्न दिनुभएकोमा म हिमालय एअरलाइन्स् प्रति आभारी छु ।’
हिमालयको सगरमाथा आरोहण सन् २०२२ को अप्रिल १३ अर्थात् नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको थियो भने सन् २०२२ को मे १६ मा सफल शिखर आरोहण पश्चात् समापन भएको छ ।












