Logo
Logo

माधव नेपालले गरे हर्कराज साम्पाङको प्रशंसा, कार्यकर्तालाई उनीजस्तै बन्न आग्रह



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित हर्कराज राई साम्पाङजस्तो बन्न आग्रह गरेका छन् ।

मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरानको मेयरमा निर्वाचित भएका साम्पाङको आफू प्रशंसक रहेको भन्दै उनीजस्तै बन्न आग्रह गरेका हुन् ।

‘नमुना उम्मेदवारको रुपमा धरानको मेयरमा विजयी भएका व्यक्तिको लशनशीलताको म प्रशंसा गर्न चाहन्छु । साधारण, अत्यन्तै निराश भएका र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसले ट्याम्पो चलाएर जनताको सेवा गर्ने गरेका रहेछन् । ट्याम्पोबाटै उनले बिरामीको उद्वार गर्ने गरेका रहेछन्। चुनाव आउने कहिले कहिले तर, थाहा पाउने बित्तिकै सहयोग गर्न पुग्दा रहेछन्’ उनले भने ।

असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न पनि उनले निर्देशन दिए । आफूहरुले राम्रोसँग काम गर्न नसक्दा देशैभरि स्वतन्त्र उम्मेदवारहरू बढेको समेत बताए ।

नेता नेपालले पार्टी बनेको छोटो समयमा नै चुनावमा होमिएर आफूहरुले राम्रो सफलता पाएको पनि दाबी गरे । नेपालमा रहेका सबै पार्टीहरूको तुलनामा एकीकृत समाजवादीको काम राम्रो भएकोले छोटो समयमा राम्रो सफलता पाएको उनको दाबी छ ।

‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग नलिकनै हाम्रो सिंगो प्यानल विजयी भएको छ। गठबन्धनको प्रत्येक घटकहरु सँगसँगै चुनावमा भाग लिएका छन् र सबैले आ(आफ्नो हैसियत पनि मत परिणाममा देखेका छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्