Logo
Logo

नौ वर्षदेखि प्रसूतिगृहमा तालाबन्दी !



जाजरकोट, २५ पुस । जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ ।
बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७/०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउँदा महिलालाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको स्वास्थ्यचौकीकी अनमी जयन्ती शाहीले बताइन् ।
प्रसूति गराउन समस्या छ, पुरानो जीर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुँदै आएको अनमी शाहीले जानकारी दिइन् । नयाँ भवन बनेको छ, प्रयोगमा छैन यसले समस्या बनाएको छ, शाहीले भनिन् । दिनमा तीन/चार जना महिला सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुँदैन, खुला ठाउँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता छ, शाहीको भनाइ छ । भवन प्रयोगविहीन हुँदा सेवा दिन कठिन भइरहेको बताइन् ।
नौ वर्ष बित्दासमेत सुत्केरीको लागि बनेको घर प्रयोगमा नआउनु दुःखको विषय भएको अहेब कृष्णबहादुर शाहले बताए । खानेपानी, बिजुली बत्तीको व्यवस्था, वरिपरि घेराबार, सुत्केरी गराने श्ययालगायतको व्यवस्था नहँदा यो भवन प्रयोगमा आउन नसकेको अहेब शाहको भनाइ छ । स्वास्थ्य संस्थामा बजेट नहुने र वडा, नगर, जिल्लाबाट बजेट व्यवस्था नहुँदा भवन प्रयोगमा ल्याउन नसकिएको हो, शाहले भने । । यसतर्फ सरोकारवाला निकायले चासो दिएको देखिँदैन ।
यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाउँसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडी, ९ गर्छिनाबाट महिला स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन् तर भवनको उचित व्यवस्थापन नहँुदा सुत्केरी सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्