Logo
Logo

आदिलकाे उत्कृष्ट बलिङमा नेपाल र अमेरिकाबीचको रोमाञ्चक बराबरी


819
Shares

काठमाण्डौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय ओडीआई सीरिजमा नेपाल र अमेरिकाले बराबरी खेलेका छन् ।

नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि खेल रोमाञ्चक बराबरी भएको हो । २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा अन्सारीले पाँच रन खर्चेर बराबरी गराए । बराबरीसँगै नेपाल र अमेरिकाले एक/एक अंक बाँडेका छन् । अमेरिकाका स्टिभन टेलरले १ सय १४ रनको शतक प्रहार गरेपछि जितनजिक पुगेकाे थियो ।

उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । त्यस्तै अमेरिकाका कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि एक दिवसीयमा डेब्यु खेल खेलेका अन्सारीले ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिए । रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय पारी खेले ।

रोहितको एक दिवसीयमा पाँचौँ, देव र आसिफको समान दोस्रो अर्धशतक हो । अमेरिकाका रस्टी थेरनले ४, सौरभ नेत्रवालकार र अली खानले २/२ विकेट लिए । नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ ।

अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटा बराबरीसहित २१ अंककासाथ चौथो स्थानमा छ । ओमान ३४ खेलमा ४२ अंककासाथ शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्