काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको गहन ढंगले विश्लेषण गनुपर्ने बताएका छन् । मंगलबार पार्टीको स्थानीय कमिटी बैठकमा उनले पार्टी गठनको छोटो अवधिमा प्राप्त गरेको पाठलाई गहन ढंगले विश्लेषण गर्नुपर्ने बताए ।

एकीकृत समाजवादी नयाँ क्रान्तिकारी पार्टी भएको भन्दै उनले भने- ‘हामी भर्खरभर्खर बन्दै गरेको पार्टी हौं । नयाँ क्रन्तिकारी पार्टी हौँ । यसकारणले यो पार्टीले छोटो अवधिमा प्राप्त गरेको पाठ हो भन्ने लाग्छ । यसलाई ठिक ढंगले पढ्न सक्यौं भने यसबाट प्राप्त भएका उपलब्धी के हुन् र कमजोरी के हुन्, हाम्रा आफ्नै कमजोरी के हुन्, गहन ढंगले विश्लेषण गर्न सक्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले स्थानीय तहको निर्वाचनले देशको राजनीतिक परिस्थितिमा परिवर्तन ल्याइदिएको बताए । उनले भने, ‘सबैजसो राजनीतिक पार्टीहरूको हैसियतमा पनि परिवर्तन ल्याइदिएको छ । देशको राजनीतिक सन्तुलनमा पनि त्यसले परिवर्तन ल्याउन सुरु गरेको छ ।’














