
काठमाडौं । नेकपा एमालेकाले आठौं महाधिवेशन बुटलवमा सम्पन्न भयो । बुटवल महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष निर्वाचित भए । झलनाथ अध्यक्ष निर्वाचित भएपछि एमाले नेताहरुले एक स्वरमा भने– ‘एमालेका सम्पूर्ण गुटहरु तिनाउ नदीसँगै बग्यो ।’
पवित्र दिनाउ नदीमा महाधिवेशन सम्पन्न गनरेर गुटहरु तिनाउमै बगाएको दावी गरेको एमालेले नवौं महाधिवेशन काठमाडौंको दुर्गन्धित टुकुचा छेउ भृकुटी मण्डपमा सम्पन्न गर्यो । तर, एमाले भित्रको गुट तिनाउसँगै बगेन । पवित्र तिनाउबाट दुर्गन्धित टुकुचासम्म आइपुग्दा एमालेभित्र गुटको दुर्गन्घ टुकुचा जतिकै दुर्गन्धित भयो ।
नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भए । त्यसपछि एमालेमा झनै गुट राजनीति मौलायो । मुल नेतृत्व ओली पूर्वनेतृत्व माधवकुमार नेपाल समूहप्रति निर्मम प्रहारमा उत्रे । ओलीको व्यवहारले एमाले आन्तरिक कलहको ठूलो भूमरिमा फस्यो ।
एमाले आन्तरिक कलहको चरम संकटमा रहेकै बेला एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो । केही समय ठीकै चले पनि अर्का अध्यक्ष प्रचण्डको साथ लिएर ओलीले माधव समूहमाथि उस्तै प्रहार सुरु गरे । एमाले हुँदा विजारोपण भएको कलह नेकपामा ब्युँतियो ।
ओलीले माधव समूहमाथि निरन्तर प्रहार गर्दै मनोमानी गर्न थालेपछि पूर्वमाओवादी र माधव समूह एक ठाउँमा आए । त्यसपछि अल्पमतमा परेका ओलीले एकपछि अर्को गर्दै गलत निर्णयहरु गर्दै गए । अन्तिममा असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघठन गरेर प्रतिगमन रोजे ।
ओलीले प्रतिगमन रोजेपछि नेकपा विभाजन भयो । एमाले र माओवादी ब्युँतिए । तर, एमाले सिंगो रहन सकेन । नेकपा हुँदा प्रचण्डसँग लागेर आफूविरुद्ध लागेको भन्दै माधव समूहमाथि ओलीले बारम्बार प्रहार गर्दै गए । ओलीको उक्त व्यवहारले एमाले विभाजन भयो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो ।
आठौं महाधिवेशनदेखि एमाले–माओवादी एकता, एकतापछि बनेको नेकपा विभाजन र नेकपा विभाजनपछि एमाले विभाजसम्म आइपुग्दा तीन दशकभन्दा लामो ओली–माधव सहकार्य टुट्यो ।
अहिले एमाले सडकमा छ । एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी सत्तामा । सत्तामा रहेको एकीकृत समाजवादीको हालै स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
सोमबारबाट केन्द्रीय परिषद बैठक सुरु भएको छ । अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सम्पन्न बैठकमा छलफल भइसकेको छ । जारी केन्द्रीय परिषद बैठकमा पनि अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
अध्यक्ष नेपालले प्रतिवेदनमा नेतृत्वमा हुँदा ओलीले गरेका गलत कामको लामो व्याख्या गरेका छन् । मुख्य त पार्टी र व्यवस्था नै समाप्त पार्न ओलीले एकपछि अर्को गर्दै पार्टी र व्यवस्थामाथि प्रहार गरेको विषयलाई नेपालले प्रस्तुत गरेका छन् ।
प्रतिवेदनको ३ नम्बर बुँदा अध्यक्ष नेपालले ‘दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध बिद्रोह’ शीर्षकमा ओली नेतृत्वमा भएका गलत कामको विस्तृत व्याख्या गरेका छन् । सोही बुँदामार्फत नेपालले विद्रोह गर्नुपर्ने कारणसमेत प्रष्ट पार्न खोजेका छन् ।
अध्यक्ष नेपालद्वारा प्रस्तुत ‘दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध बिद्रोह’ बुँदा यस्तो छ–
कम्युनिष्ट पार्र्टीे नीति प्रधान हुनुपर्नेमा त्यसलाई सम्पूर्ण रूपमा नेता प्रधान बनाइयो । २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्माण गरियो ।
एकीकृत पार्टीका दुई अध्यक्षमध्ये एक ओलीले फेरि पनि पार्टीलाई नीति, विधि, पद्धति र मापदण्डका आधारमा चलाउन चाहेनन् । त्यसबेला पनि गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढङ्गले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्य नै गरिरहे ।
हामीले उनका गलत विचार र व्यवहारको आलोचना गरिरह्यौँ तर उनी गलत बाटोमै हिडिरहे । यतिसम्म कि पार्टीमा कुनै छलफलै नगरी प्रतिनिधि सभाको विघटन गर्ने जस्तो अलोकतान्त्रिक, असंवैधानिक प्रतिगामी कदम चाल्न पुगे ।
पार्टीको संस्थागत नीति तथा निर्णयभन्दा बाहिर गएर प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिसँग अघोषित सम्झौँता, बाह्य शक्तिकेन्द्रसँग अपारदर्शी साँठगाँठ र विदेशी राष्ट्रको एक गुप्तचर संस्थाका प्रमुखसँग मध्यरातमा गुप्त मन्त्रणा गरी उनीहरूसँगको सल्लाह र योजनामुताविक सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान र अग्रगामी उपलब्धिलाई उल्टाउने उद्देश्यका साथ २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले संसद नै विघटन गरेपछि स्थिति गम्भीर बन्यो ।
यो विषय पार्टीको आन्तरिक विषय मात्र रहेन र अन्तरपार्टी संघर्षको विषय मात्र भएन । विषय अब संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियताको जगेर्ना र संविधानले निर्दिष्ट गरे अनुसार समाजवादको दिशामा मुलुकलाई कसरी अगाडि बढाउने भन्ने भयो ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता भङ्ग गर्ने निर्णय गरेपछि ओलीको षड्यन्त्रकारी यात्रा झनै अगाडि बढ्यो । उनले २०७७ फागुन २८ मा आफ्नो गुटको बैठक राखेर नेकपा (एमाले) मा विभाजन ल्याउन निर्णय गरे ।
पुनःस्थापित प्रतिनिधि सभाले आफुलाई विश्वासको मत नदिएपछि उनले फेरि चरम अलोकतान्त्रिक एवं प्रतिगामी कदम चाल्दै २०७८ जेठ ७ मा दोस्रो पटक संसद विघटन गरे । हामीले उनको त्यस प्रतिगामी कदमका विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्यौँ र स्वयम् उपस्थित भएर सनाखत समेत गर्यौं ।
सर्वोच्च अदालतबाट २०७८ असार २८ मा प्रतिनिधि सभाको दोस्रो पटक पुनःस्थापना भएपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत पनि दियौँ । तर, पनि हामी गठबन्धन र सरकारमा सामेल भएका थिएनौँ । हामी एमालेमा २०७५ जेठ २ पूर्वको अवस्था कायम भएमा त्यहीं नै रहने पक्षमा थियौँ । तर, ओली गुट एमालेलाई विभाजन गरिछाड्ने पक्षमा उभिएकाले एकता जोगाउन सम्भव भएन ।
हामीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्नका निम्ति पुनःसङ्गठित भएर कृयाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौँ र विद्रोहको बाटो रोज्न वाध्य भयौँ ।











