
काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटबार्ता भएको छ ।
सरकारले संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल गर्न गृहमन्त्री खाण अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए। छलफल सकारात्मक भएको उनको भनाइ छ।
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो। राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले उक्त प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ।
पेस भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाण विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन्। आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए।











