काठमाडौं । जनता समाजवादी पार्टी (जसप)का संघीय नेता डा. बाबुराम भट्टराईले आफूहरु राजनीतिक यात्राको अनौठो मोडमा आइपुगेको बताएका छन् । मंगलबार आफू पक्षीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले कानुनतः आफूहरु जसपाका सदस्य भएपनि राजनीतिक यात्रामा अनौठो मोड आएको बताए ।

पार्टीको मूल पंक्ति आफूहरुसँगै भएको उनले बतए । आफूहरुको बहुमत पुग्ने दाबी पनि गरे । उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहसम्मका नेताहरुको मूल पंक्ति अहिले हामीसँग छ । यो बैठकमा कति संख्या छ भन्ने भोलि निरुपण हुँदै जाला । मलाई विश्वास छ, संख्याको बहुमत पनि हामीसँग छु ।’
भट्टराईले जसपाले अंगाल्दै आएको संघीयता, सुशासन, समृद्धि र समाजवादका आधारतत्वको परिभाषा आफूहरुले गरेको पनि बताए । उनले भने, ‘त्यो आधार तत्वलाई बोक्ने, यो पार्टीलाई स्थापना गराउने, फूटको बेलामा पनि जोगाएर यहाँसम्म ल्याउने श्रेय हामीलाई छ । ती मानिसहरु हामी यहाँ छौँ ।’
उनले आफूहरुको बैठकलाई कसैले यो बैठक अवैध भन्छ भने इतिहासलाई बंग्याउने काम गर्ने बताए । केही अघि भट्टराई पक्षले बोलाएको बैठकलाई उपेन्द्र यादव पक्षका नेता प्रकाश अधिकारीले अवैध भनेका थिए ।
भट्टराईले जसपा भनेको देशमा एउटा वैकल्पिक शक्तिको रुपमा आफूहरुले स्थापना गरेको पार्टी भएको बताए ।














