
त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ४ दिनदेखि आमरण अनसनमा छ ।
विश्वविद्यालयको विकृति विसंगति अन्त्यको माग राख्दै अनशन सुरु गरिएको अध्यक्ष सुदेश पराजुलीले बताए । अनसरत विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि पराजुलीसहितका विद्यार्थीलाई बिहीबार त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । केही सुधार भएपछि अहिले वार्डमा उपचार भइरहेको पराजुलीले दृष्टिन्यूजलाई बताए ।
उपचार भइरहेपनि अनसनमै रहेकाे उनले बताए । ‘४ दिन भयो मुखमा पानीसमेत परेको छैन । हामिलाई मृत्यु स्वीकार छ । तर त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक अपराधिकरण गर्ने प्रवृत्ति किमार्थ स्वीकार्य छैन,’ उनले भने, ‘माग पुरा नभएसम्म अनसन तोड्दैनौं ।’
अनेरास्ववियुले एमफिल/पीएचडीलाई नियमित कार्यक्रमका रूपमा लागू गर्नुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयअनुकूल परिमार्जन गर्नुपर्नेलगायत माग अघि सारेको छ ।
अनसनमा स्थानीय तह स्वास्थ्यकर्मी सञ्जाल नेपाल, अनेरास्ववियू पोखराका पूर्वअध्यक्ष तुलबहादुर गुरुङलगायतले ऐक्यबद्धता जनाएका छन् । उनीहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता मेटमणी चौधरीसहितका नेताले अस्पतालमै पुगेर भेटेका छन् ।














