Logo
Logo

करोडपति सहसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २५ पुस ।
निजामती प्रशासनमा बदनाम सहसचिव चन्द्रमान श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । वन तथा वातावरण मन्त्रालयका सहसचिव श्रेष्ठविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अकुत सम्पति आर्जन गरेका भन्दै उनीविरुद्ध बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


उनको एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँ अकुत सम्पति रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । लामो समय मालपोत र यातायात कार्यालयका काम गरेका श्रेष्ठमाथि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदादेखि आयोगले छानबिन सुरु गरेको थियो ।
भ्रष्टाचारको सम्पति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत राखेकाले उनीहरुलाई समेत प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ ।
यस्तो छ आयोगको बिज्ञप्ती–

यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेकोले निज उपर कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरीको अनुसन्धानको क्रममा निज चन्द्रमान श्रेष्ठ (हाल वन तथा बातावरण मन्त्रालयको सह-सचिव पदमा कार्यरत)ले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा निजको आय व्ययको विस्तृत विश्लेषण समेतबाट निजको आय आर्जन र खर्च तथा लगानीतर्फ विश्लेषण गर्दा सार्वजनिक पद धारण गरे पश्चात जाँच अवधिका विभिन्न वर्षमा निजले आफ्नो नामका साथै आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा संकलित तथ्य प्रमाणहरु उपर छानबिन एवं विश्लेषण गरी हेर्दा निजले सार्वजनिक पद धारण गरेको मिति २०३८।१०।२८ गतेदेखि जाँच अवधिमा रू.२,१०,७७,००४।१६ (दुई करोड दश लाख सतहत्तर हजार चार रूपैयाँ सोह्र पैसा) आय आर्जन गरेको देखियो भने सोही अवधिमा निज तथा निजको परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी रू.३,४४,७७,५८०।९२ (तीन करोड चवालीस लाख सतहत्तर हजार पाँच सय असी रूपैयाँ बयानन्वे पैसा) खर्च गरेको देखिंदा वैध आयको तुलनामा रू.१,३४,००,५७६।७६ (एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा ) बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आयो। निज चन्द्रमान श्रेष्ठ लगायत परिवारका सदस्यहरु तथा अन्य व्यक्तिहरुका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात देखिएको, जग्गा लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको देखिन आएको छ ।

वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रू.१,३४,००,५७६।७६ (एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा ) निजले राष्ट्रसेवक भए पश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएकोले निज चन्द्रमान श्रेष्ठ उपर विगो रू.१,३४,००,५७६।७६ (एक करोड चौतीस लाख पाँच सय छयहत्तर रुपैयाँ छयहत्तर पैसा ) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन तथा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत समेत गरी पाउन मागदावी लिइ आज विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ ।

यसका अतिरिक्त निज सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू निजकी श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा राखेको देखिएको हुँदा साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिने र सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि निजकी श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्