चितवन । नेपाली कांग्रेसमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको केन्द्रीय समितिको जारी बैठकमा केही केन्द्रीय सदस्यहरुले धर्मनिरपेक्षता खारेजीको विषय उठाएकाे बताएका हुन् ।

नेता कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ उनले आफूलाई लागेको कुरा बैठकमा उठाउनु कुनै नौलो नभएको बताए ।
उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा छलफल भइरहेको बताए । गठबन्धन गर्दा काँग्रेसलाई कम क्षति हुनेगरी मात्र जानुपर्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा समेत बैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसबाट वागी उम्मेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।











