
काठमाडौं । २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज देखि लगाइँदै छ ।
स्वास्थ्य मन्त्रालयले असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ ।
उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउन आग्रह गरे ।
प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेसको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमतीको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् ।
यस्तै गण्डकीको कास्की र नवलपरासी पूर्व, लुम्बिनीको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।
यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।











