काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टी एक नभइ राष्ट्रिय शक्ति नबन्ने बताएका छन् ।
अनेरास्ववियूले मंगलबार काठमाडौंको आयोजना गरेको ‘राष्ट्रिय समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।

उनले विगतका कुरालाई बिर्सेर अगाडी बढ्नुपर्ने बताए । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससँग गरेको सगबन्धन नर्ककुण्ड भएको र त्यो बाटो स्वर्ग नपुग्ने बताए ।
‘यो बिचको एक/डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो समयको रुपमा छाडौं । पछाडी धेरै नर्फर्कौं, कसले के गर्यो भनेर । जब कसले के गर्यो भन्नेमा जान्छौँ हामी एकअर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ,’ उनले भने, ‘अब अगाडी कसरी जाने ? त्यो सोचौं । कांग्रेससँगको गठबन्धन भने नर्ककुण्ड हो । त्यो नर्ककुण्डबाट फर्कौं । त्यो बाटो स्वर्ग पुगिन्दैन । स्वर्ग जाने भए त गोजीमा स्वर्गकै ठेगना चाहिँयो । अनि मात्र त्यहाँ पुगिन्छ ।’
उनले माओवादी र एकीकृत समाजवादीलाई सँगसँगै हिड्न आग्रह गरे । तत्काल एउटै बाटोमा हिड्न नसकेपनि नजिक–नजिक भएर हिड्नुपर्ने उनले बताए । उनले भने, ‘आजकाल जीपीएस किन लाइन्छ भने जीपीएसले ठिक ठाउँमा लान्छ । त्यसैले माओवादी र एकीकृत समाजवादीका साथीहरुले जीपीएस लगाउनु पर्यो । र, फर्कनु पर्यो । अनि हामी सँगसँगै हुँदै जाऊ । कति वर्षसम्म सँगसँगै हिड्ने नजिकबाट हिडौं । जुनबेला एउटै बाटोमा हिड्ने सम्भव हुन्छ, हिडौंला ।’
उनले अहिलेका नेतृत्वले कम्युनिष्ट एकता नगरे आफ्नो पालामा भएपनि गर्नुपर्ने बताए । कम्युनिष्ट पार्टी छिट्टै एउटा बाटोमा हिड्न खोज्दा दुर्घटना भएको टिप्पणी गर्दै उनले भने, ‘अस्ति छिट्टै एउटा बाटोमा हिड्न खोज्दा दुर्घटना भयो । अहिले नै एउटै बाटोमा नहिडौं, ठिकै छ । एउटै दिशामा त जान सक्छौँ । फरक लेनबाट जाऊ । एउटै दिशमा जाऊ । हाईवेमा के हुन्छ भने त्यो लेन मर्ज हुन्छ । लेनहरु सँधै अलगअलग हुँदैन । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ । आजको नेताको पालामा भएन भने मेरो पालामा गरौंला, लेन मर्ज । त्यसो नगरे यहाँ राष्ट्रिय शक्ति बन्दैन ।’











