काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले देशी-विदेशी शक्ति गुहारेर पालैपालो प्रधानमन्त्री बनेर राज्यको दोहोन गरेको भन्दै देउवा र प्रचण्डमाथि कारबाही गर्न माग गरेका हुन् ।
एमालेको अर्थ विभागका सदस्य एम अधिकारीबारे सांसद्हरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै बस्नेतले भने, ‘परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नु पर्ने हैन र ?’
जनार्दन शर्मालाई ‘जी शर्मा’ भनेर सम्बोधन गरेका बस्नेतले शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप लगाए । बजेटमा रातारात सेटिङ गर्ने, भन्सारको दररेट फरक पार्ने, सीसीटीभीका प्रमाण नष्ट पार्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढ गर्ने जी शर्माको समेत खोजी गरेर कारबाही हुनुपर्ने बस्नेतको भनाइ थियो ।











