
काठमाडौं – संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।
आजको बैठमा सरकारले नागरिकता विधेयक पेस गर्ने भएको छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिद्वारा प्रमाणीकरण भएमा ऐनकोरुपमा कार्यान्वयनमा आउनेछ।
त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराइनेछ।











