काठमाडौं । औषधि ब्यवस्था बिभागले विदेशी उद्योगको अनुगमन(अडिट कार्य) का लागि २ पटक पठाएका टोली फर्किएको छ । असारको दोस्रो हप्ता फर्किएको पहिलो टोलीमा गएकै कर्मचारीलाई संलग्न गराई असारको तेस्रो साता दोस्रो पठाइएको थियो ।

आर्थिक बर्षको अन्त्य नजिकिंदै गर्दा हतार हतारमा असार ६ गते अडिट टोली पठाउने निर्णय गरिएको थियो । विभागका महानिर्देशक भरत भट्टराई, निरीक्षण महाशाखाका प्रमुख सन्तोष केसी, फार्मेसी अधिकृत निकेश श्रेष्ठ र न्यौपाने थरका बिचौलियाको संलग्नतामा ५८ वटा उद्योगलाई निरीक्षणको सूचीमा राखिएको थियो । निरीक्षणमा जाने टोलीका सदस्य पनि यही टीमले नै छनोट गरेको थियो ।
औषधि ब्यवस्था विभागको २०७४ माघ ७ को सार्वजनिक सूचना बमोजिमको आवश्यक कागजात बुझाएका उद्योगहरुलाई समावेश गरिएको भनिए पनि आर्थिक चलखेलका आधारमा सूची सार्वजनिक गरिएको प्रष्ट भइसकेको छ । जसका बारेमा स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर ती निकायहरुमा आर्थिक प्रभाव पारी उजुरी गुपचुप पारिएको महानिर्देशक भरत भट्टराईले नै निकटस्थहरुसँग बताउने गरेका छन् ।
२०७८ जेठ मसान्तसम्मको अवधिसम्म आवश्यक कागजातहरु अद्यावधिक गरेका उद्योगहरुलाई छनोट सूचीमा पारिएको भने पनि अधिकांश उद्योगहरुले विभागले कागजात मागेको सूचना पाउनै सकेनन् । विभागले सार्वजनिक रुपमा विवरण उपलब्ध गराउन आह्वान गरेको जानकारी समेत कसैले पाउन नसकेपछि मोलतोलका आधारमा छनोट गरिएको स्वतः पुष्टि हुने एक ब्यवसायीको गुनासो छ ।
समाचार स्रोतका अनुसार, २ वटै टोलीलाई ९–९ बिदेश भ्रमण काज स्वीकृत गरिएको र विभागको स्वीकृत बजेटबाटै काजभत्ता जाने टोलीलाई उपलब्ध गराइएको थियो । तर, टोलीका सदस्यहरुले उद्योगहरुबाट पनि थप अतिरिक्त सुविधा लिएका छन् ।
अडिट गर्न जाने टोलीका सदस्यहरुलाई आतेजाते खर्चदेखि परिवारलाई महंगा उपहार खरिद गर्न लगाउनेदेखि सुविधाजनक होटलमा कक्टेलसहितको आवासीय ब्यवस्था विदेशस्थित उद्योगले गर्नुपरेको स्रोतले बताएको छ । असारको पहिलो र दोस्रो हप्ता गएको टोलीमा पानबहादुर क्षेत्री(निमित्त निर्देशक)को नेतृत्वमा किरणसुन्दर बज्राचाय(फार्मेसी अधिकृत) भारत गएको थियो ।
त्यस्तै बरिष्ठ औषधि ब्यवस्थापक प्रमोद केसीको नेतृत्वमा मुकेन्द्र पंजियार (फा अ) भारत, बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीको नेतृत्वमा आशा थापा (फा अ), अर्का बरिष्ठ औषधि ब्यवस्थापक सन्तोष केसीको नेतृत्वमा अरबिन्द बनियाँ (फा अ) बंगलादेश गएका थिए ।
वरिष्ठ औषधि ब्यवस्थापक उषा तण्डुकारको फार्मेसी अधिकृत केशु गिरी भारत,बरिष्ठ औषधि ब्यवस्थापक निनु श्रेष्ठको नेतृत्वमा फार्मेसी उमंग त्रिपाठी भारत, बरिष्ठ औषधि ब्यवस्थापक सचिता जोशीको नेतृत्वमा निकेश श्रेष्ठ भारत गएका थिए ।
उनीहरु असारको दोस्रो सातादेखि तेस्रो साताको बीचमा विभाग फर्केलगत्तै तुरुन्तै प्रायः तिनै सदस्यहरु सम्मिलित गराई असार तेस्रो साता दोस्रो टोली पठाइएको थियो । साउन ६ गतेसम्म दोस्रो पटक गएको टोली फर्किसकेको छ । दोस्रो टोलीमा राष्ट्रिय औषधि प्रयोगशालाका निमित्त निर्देशक पानबहादुर क्षेत्रीको फार्मेसी अधिकृत निकेश श्रेष्ठ भारत, गएका थिए ।
त्यसैगरी प्रमोद केसीको नेतृत्वमा अरबिन्द बनियाँ, शिवानी खडगी, किरणसुन्दर बज्राचार्य, सन्तोष केसी, मुकेन्द्र पंजियार, उषा तण्डुकार, बिनला जोशी, निनु श्रेष्ठ र संजीव शर्मा कट्टेलको टोली भारत पुगेर फर्किसकेको छ ।
टोली फर्केलगत्तै कार्यालयका सबै काम छाडेर प्रतिवेदन बनाउने काममा ब्यस्त छन् । स्र्रोतका अनुसार अहिले प्रतिवेदन बनाउनका लागि उद्योगीहरुले काठमाडौंका विभिन्न होटलका कोठा नै बुक गरिदिएका छन् । उद्योगीहरुको अनुकूलको प्रतिवेदन तयार भएपछि त्यसलाई हतार हतार स्वीकृत गर्न महानिर्देशक भट्टराईले टोलीका सदस्यहरुलाई ताकेता गरिरहेका छन् ।
उद्योगीहरुको अनुकूलको प्रतिवेदन तयार भएपछि त्यसलाई हतार हतार स्वीकृत गर्न महानिर्देशक भट्टराईले टोलीका सदस्यहरुलाई ताकेता गरिरहेका छन् ।उद्योग निरीक्षण प्रतिवेदन लेखन र स्वीकृति तीन तहमा गरी महानिर्देशक भट्टराई, निर्देशक केसीको टोलीले उद्योगीहरुसँग १० करोडभन्दा रकम उठाउने लक्ष्य राखेको स्रोतको भनाइ छ ।
उद्योग निरीक्षण प्रतिवेदन लेखन र स्वीकृति तीन तहमा गरी महानिर्देशक भट्टराई, निर्देशक केसीको टोलीले उद्योगीहरुसँग १० करोडभन्दा रकम उठाउने लक्ष्य राखेको स्रोतको भनाइ छ । उक्त लक्ष्य प्राप्तीका लागि धमाधम काम भइरहेको छ ।
बिदेशी औषधि उद्योगहरुका बिचौलिया न्यौपानेले यो लक्ष्य पूरा गर्ने प्रतिबद्धता प्रकट गरेकाले पनि महानिर्देशक भट्टराई र केसीलाई प्रतिवेदन छिटो स्वीकृत गर्न दबाब दिइरहेका छन् । यहीबेला भट्टराईको सरुवा हुने चर्चाले पनि यो टोली झस्किन पुगेको छ । तर स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका कारणले उनको सरुवा तत्काललाई रोकिन पुगेकाले उनीहरुलाई राहतको महसुस गरी हौसिन पुगेका छन् ।
बिदेशी औषधि नेपालमा बिक्रीबितरणका लागि औषधि ब्यवस्था विभागले सम्बन्धित देशमा टोली पठाएर निरीक्षण गरी गुणस्तरीय छ भने सूचीकरण गर्ने गर्दछ । तर विगतमा नारायणप्रसाद ढकालले सेटिङको आधारमा गुणस्तरहीन औषधिलाई पनि नेपालमा सूचीकरण गरेको आरोप लागेको थियो ।











